नितेश कर्ण,
पर्सा । बीरगंजस्थित सशस्त्र प्रहरी बल १३ नं गण चिनीमिल पर्साले वर्षात्को समयमा आइपर्ने विपद्लाई व्यवस्थापन गर्न बाढीपीडित उद्धार कार्यको अनुशिक्षण अभ्यास गरेको छ । सम्भावित जोखिमको समयलाई मध्ये नजर गर्दै सशस्त्र प्रहरीले शुक्रबार उद्वार कार्यको अनुशिक्षण अभ्यास गरेको हो ।
मौसम विज्ञहरूले यस वर्ष मनसुनी वर्षा अत्यधिक हुने भएकोले विपद् दल तयार अवस्थामा रहनुपर्ने केन्द्र सरकारको निर्देशन छ । त्यसै कारण सबै जिल्लामा विपद् व्यवस्थापनसम्बन्धी तयारी तीव्र पारिएको हो ।
पर्साको तिलावे खोलामा बाढी आउँदा वीरगंज–१७ अलौं गाउँँ डुबानमा पर्दा गाउँँलेलाई डुङ्गा र डोरीको सहाराले तालिमप्राप्त सुरक्षाकर्मीले कसरी बचाउन सकिन्छ भन्ने अभ्यास गरी देखाएका थिए ।
सशस्त्र प्रहरी बलले चितवनको कुरिनटारमा बाढी, डुबान तथा कटानमा फसेकालाई उद्धार गर्न जनशक्ति उत्पादन गर्दै आएको र सशस्त्र प्रहरीको ऐन २०५८ को परिच्छेद २ अनुसार नेपालमा आइपर्ने विपद्मा अग्रपङ्क्तिमा सशस्त्र प्रहरीले नै जिम्मेवारी निर्वाह गर्नुपर्ने व्यवस्था रहेकोले अन्य सुरक्षा निकायभन्दा सशस्त्र प्रहरी बढी तयारी अवस्था रहनुपर्छ भन्दै यस्तो अभ्यास गरिएको हो ।
उद्धार अभ्यास कार्यक्रमको समापन सत्रमा कार्यक्रमका प्रमुख अतिथि वीरगंज महानगरका प्रमुख विजयकुमार सरावगीले जनप्रतिनिधिहरू विपद्को समयमा उद्धारका लागि तयारी अवस्थामा बस्न अनुरोध गरे । उनले बीरगंजमा श्रीसिया र भेडाहा खोलाका कारण दर्जनौं गाउँ डुबानमा पर्दा समस्या उत्पन्न हुने गरेको बताए । उनले करिब रु २५ करोड खर्च गरी भेडाहा खोलामा बाँध निर्माण भएपनि जोखिम रहेको तर्फ औंल्याए ।
पन्ध्र वर्ष पहिलेकै अवस्थामा श्रीसिया खोलाको गहिराइ र चौडाइ फर्काउन खोला आसपास भएका अतिक्रमण हटाउन आवश्यक रहेको प्रमुख सरावगीले बताए । नत्र कम चौडाइमा बग्ने पानीले ब्याक फायर गरी बस्ती र टोल डुबानमा पार्ने बताए ।
पर्साका प्रमुख जिल्ला अधिकारी पीताम्बर घिमिरेले सरकारले विपद्को समयमा कमभन्दा कम जनधनको क्षतिको लागि जिल्ला तथा पालिका स्तरमा विपद् व्यवस्थापन समिति पूर्वतयारी अवस्थामा रहेकोले विपद् आइपरेमा लड्न सकिने बताए ।
सशस्त्र प्रहरी पर्साका प्रहरी उपरीक्षक राजेन्द्र खड्काले विपद् बाजा बजाएर नआउने भएकोले अहिलेदेखि नै तयारी थालेको र आगामी दिनमा पर्साका विभिन्न युनिटलाई तालिम दिएर पूर्वतयारी अवस्थामा राखिएको बताए ।