एजेन्सी । चीनले तिब्बतमा पहिलो पूर्ण विद्युतीय बुलेट रेल सञ्चालनमा ल्याएको छ । तिब्बत–सिचुआन रेलमार्गमध्येको ल्हासा–न्यिङचि खण्डमा बुलेट रेल शुक्रबारबाट सञ्चालनमा आएको सञ्चार माध्यमहरुले जनाएका छन् ।
चिनियाँ कम्युनिष्ट पार्टीको स्थापनाको एक सय वर्ष पुग्नलागेको समय आउनुअघि ४ सय ३५ दशमलव ५ किलोमिटर लामो यो रुटमा बुलेट रेल सञ्चालनमा ल्याइएको हो । चिनियाँ समाचार एजेन्सी सिन्ह्वाका अनुसार शुक्रबार ‘फुछिङ बुलेट रेल’ले आधिकारिक रुपमा आफ्नो सेवा सुरु गरेको हो । यो तिब्बतको पहिलो बुलेट रेल हो ।
अहिले सञ्चालनमा आएको रुटमा नौ वटा स्टेसन छन् । गत नोभेम्बरमा चिनियाँ राष्ट्रपति सि जिनपिङले न्यिङचि र सिचुआन प्रान्त जोड्ने रेलमार्ग निर्माणको लागि निर्देशन दिनुभएको थियो । । अहिले सञ्चालनमा आएको बुलेट रेल प्रतिघण्टा १ सय ६० किलोमिटरको गतिमा कुद्न सक्छ ।
यो रेलमार्गको निर्माण सन् २०१५ मा सुरु भएको थियो । यो रेलमार्गको ९० प्रतिशतभन्दा धेरै भाग समुद्री सतहभन्दा ३ हजार मिटरभन्दा अग्लो स्थानमा छ ।अहिले सञ्चालनमा आएको रुटमा ४७ सुरुङ र १ सय २१ पुलहरु छन् । उक्त रेलले यार्लुङ जाङबो नदीलाई १६ पटक पार गर्छ । यो रेल मार्ग निर्माणको लागि १ लाख ३० हजार श्रमिकले श्रमदान गरेका थिए ।