काठमाडौं । काठमाडौं उपत्यकामा जारी निषेधाज्ञा लम्ब्याउनका लागि उपत्यकाभित्रका तीनवटै जिल्लाका प्रमुख जिल्ला अधिकारीहरु आइतबार बैठक बस्दैछन् ।
गएको बैशाखबाट जारी गरी विभिन्न चरणमा थप गरिएको निषेधाज्ञा असार ७ अर्थात् सोमबार राति १२ बाट सकिन लागेको निषेधाज्ञा थपका लागि तीनै जिल्लाका प्रमुखहरु आज बैठक बस्न लागेका हुन् ।
बैशाख १ गतेबाट केही खुकुलो पारिएको निषेधाज्ञालाई अझै खुकुलो बनाउँदै लाने तयारी गरिएको बताइएको छ ।
यसपटक थपिन लागेको निषेधाज्ञालाई अझ खुकुलो बनाउँदै भाँडाकुँडा, लत्ताकपडा लगायतका पसलहरुलाई निश्चित समय तोकेर खोल्न दिने तयारी गरिएको छ ।
अहिले काठमाडौं उपत्यकामा औषधि तथा खाद्यान्न पसलहरुका साथै स्टेशनरी पसल, कृषि सामाग्रीको पसलका साथै हार्डवेयर पसलहरुलाई समेत निश्चित समय तोकेर खोल्न दिइएको छ ।
यसका साथै सवारीका साधनहरुमा पनि जोर विजोर प्रणालीमा खोल्न दिन तयारी भईरहेको छ ।