काठमाडौं । लगातार बढिरहेको सेयर बजारमा मंगलबार सामान्य करेक्सन देखिएको छ । सोमबार नेप्से परिसूचक ऐतिहासिक ३ हजार २५ दशमलब ८३ विन्दुमा पुगेको थियो ।
मंगलबार भने परिसूचक ३ दशमलब ७२ अंकले घटेर ३ हजार २२ दशमलब ११ विन्दुमा आइपुगेको हो । नेप्सेमा मंगलबार १६ अर्ब ५२ करोड ८७ लाख रुपैयाँ बराबरको कारोबार भएको छ । कूल २ सय २६ वटा कम्पनीका तीन करोड नौ लाख ४८ हजार ८५३ कित्ता सेयर एक लाख ६४ हजार ७९० पटक खरिद–बिक्री भएका छन् ।
सीईडीबी हाइड्रोपावर डेभलपमेण्ट कम्पनीका लगानीकर्ताले सबैभन्दा बढी प्रतिकित्ता ९ दशमलब ८८ प्रतिशतका दरले कमाएका छन् । छ्याङ्दी हाइड्रोपावर लिमिटेडका लगानीकर्ताले सबैभन्दा बढी प्रतिकित्ता ७.६६ प्रतिशतका दरले गुमाएका छन् ।
नेप्से परिसूचक घटे पनि आज ठूला कम्पनीको सेयर कारोबार मापन गर्ने सेन्सेटिभ परिसूचक शुन्य दशमलब २५ अंकले बढेर ५ सय ५० दशमलब २६ विन्दुमा कायम भएको छ । तर होटल तथा पर्यटन, इन्भेष्टमेन्ट, उत्पादन तथा प्रशोधन, म्युचुअल फण्ड र अन्य समूहको परिसूचक बढ्दा बाँकी सबै समूहका परिसूचक भने घटेका छन् ।