काठमाडाैं। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कोभिड १९ को उपचार शुल्क सरकारले तोकेभन्दा बढि नलिन स्वास्थ्य संस्थालाई अपिल गरेको छ ।
मन्त्रालयले कोरोना उपचारका क्रममा सरकारले तोकेको भन्दा बढी रकम लिएको पाइएमा तत्काल उजुरी गर्न अपिल गरेको हो । यदि कुनै सवास्थ्य संस्थाले त्यस्तो गरेको पाइएमा त्यस्ता स्वास्थ्य संस्थामाथि मन्त्रालय, उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालय, प्रदेशका सामाजिक विकास मन्त्रालय, जिल्ला प्रशासन कार्यालय र पालिकामा उजुरी गर्न पत्रचार गरेको हो ।
मन्त्रालयले सरकारले तोकेको भन्दा बढी शुल्क लिन गरेको जनगुनासो आएकोले उजुरी गर्न आग्रह गरिएको जनाएको छ । सरकारले सङ्क्रमितको उपचार व्यवस्थापनका लागि सामान्य बिरामीलाई तीन हजार ५०० रुपैयाँ प्रतिदिन, मध्यमबिरामीका लागि सात हजार रुपैयाँ प्रतिदिन र गम्भीर प्रकृतिका बिरामीलाई १५ हजार रुपैयाँ प्रतिदिन निर्धारण गरेको छ।