निशुल्क औषधिका साथ चिकित्सकको टोली समुदायमा | ईमाउण्टेन समाचार

Our Network

वैशाख ११ २०८१, मंगलबार

निशुल्क औषधिका साथ चिकित्सकको टोली समुदायमा

दाङ । समुदायमा कोरोना संक्रमण बढेर महामारीको रूप लिन सुरु गरे पछि जिल्लामा संघ संस्थाहरू पनि रोकथाम, नियन्त्रण र उपचारमा खटिएका छन् । स्थानीय सरकारले मात्र कोरोना भाइरसको नियन्त्रण रोकथाम र उपचार गर्न एक्लै नसक्ने देखेपछि स्थानीय निकायमा सञ्चालनमा रहेका विभिन्न संघ संस्था समुदायमा पुगी उपचार र सचेतनामा जुटेका हुन् ।

चिकित्सक सहितको ६ सदस्यीय स्वास्थ्यकर्मीको टोलीले गत जेठ १३ गतेदेखि खटिएका छन् । यी संस्थाहरुले निःशुल्क उपचार, औषधि उपलब्धता, मनोपरामर्श समेत उपलब्ध गराउने गरेका छन् ।

हाल तुलसीपुर उपमहानगरपालिका, बबई गाउँपालिका र शान्तिनगर गाउँपालिकाका बिभिन्न वडामा पुगी कोरोना भाइरस लक्षण देखिएका ब्यक्तिको घरमै पुगी चेक जाँच, औषधि र परामर्श सेवा दिँदै यी संस्थाहरुले आफ्नो सेवा सञ्चालन गर्दै आएका छन् ।

झण्डै २ हप्ताको अवधिमा डाक्टर राजीव झा नेतृत्वको स्वास्थ्यकर्मीको टोलीले ६ सय ३६ महिला र ४ सय ६० गरी ३ स्थानीयतहमा एक हजार ९६ जनाको स्वास्थ्य जाँच गरिएको छ ।

त्यस्तै, ४६ को पीसीआर टेष्ट गरिएकोमा ३७ मा कोरोना पुष्टि भएको छ । त्यस्तै, १ सय ९७ जनाको एन्टिजेन टेष्ट गर्दा ४९ मा पुष्टि भएको डा. झाले जानकारी दिए ।

यसैगरी विभिन्न लक्षण देखिएका ८ सय १९ को स्वास्थ्य परीक्षण र ६ सय ८४ लाई औषधि उपलब्ध गराएको समेत उनले जानकारी दिए । साथै ३ जनालाई थप उपचारका लागि रिफर गरिएको पनि उनले बताए । बबई , शान्तिनगर र तुलसीपुर बिभिन्न वडामा घुम्ती शिविर सञ्चालन गरिएको छ ।

गाउँ टोल बस्तीमा स्वास्थ्यकर्मी आई निशुल्क स्वास्थ्य जाँच, उपचार, औषधि र मनोपरामर्श दिँदा स्थानीय खुशी भएको स्थानीय पुष्पराज बुढाथोकीले बताए । चिकित्सक सहितको टोली गाउँ बस्ती टोलमा पुग्दा सबैभन्दा बढी विपन्न, दलित, थारू समुदाय लाभान्वित भएका छन् ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);