काठमाडौं । चीन सरकारले अनुदानमा दिएको कोरोना भाइरसविरुद्धको भेरोसेल खोप आगामी जेठ २५ गतेदेखि लगाउन सुरु गरिने भएको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार अनुदानमा आएको खोप आउँदो २५ गतेदेखि ६० देखि ६४ वर्षका नागरिकलाई लगाइने भएको हो ।
खोप लगाउन जाँदा सरकारी कागजात वा वडा कार्यालयले दिएको सिफारिस लैजानुपर्ने समेत बताइएको छ । चीनले यसअघि पनि आठ लाख डोज खोप अनुदानमै दिएको थियो ।
चीनले अनुदान घोषणा गरेको १० लाखमध्ये नौ लाख डोज खोप मंगलबार काठमाडौं आइपुगेको थियो भने बाँकी एक लाख डोज आज आइपुग्ने भएको छ । राष्ट्रपति विद्यादेवी भण्डारीको आग्रहमा चिनियाँ राष्ट्रपति सी जिनफिङले अनुदानमा खोप दिने घोषणा गर्नुभएको थियो ।