काठमाण्डौँ, २ कात्र्तिक । आज तिहारको तेस्रो दिन कात्तिक कृष्ण औँसी, आज धनधान्य र समृद्धिकी देवी लक्ष्मीको पूजा गरी यो पर्व मनाइँदैछ।
आजका दिन घर वरिपरि सरसफाइ गरी सिङ्गारेर बत्तीले झिलिमिली पारी लक्ष्मी पूजा गरेमा लक्ष्मीले सधैँ बास गर्छिन् र ऐश्वर्य अर्थात धन प्रदान गर्छिन् भन्ने धार्मिक विश्वास रहेको छ ।
यसै विश्वासका कारण आज घरघरमा दीपावली गरिन्छ । घरमा लक्ष्मी प्रवेश गरून् भनी आँगन वा चोकदेखि ढुकुटीसम्म लक्ष्मीको पाइला अङ्कित गरिन्छ । यसरी अङ्कित गरिएको पाइलामा कमलको फूलको शय्या बनाइदिएमा त्यस घरलाई लक्ष्मीले कहिल्यै छोड्दिनन् भन्ने विश्वास रहेको छ ।
लक्ष्मी पूजा गरिसकेपछि मध्यरातमा महिलाले आँगनबाट भित्रसम्म दुःख, दरिद्र हटी सुखशान्ति भित्रियोस्, लक्ष्मी स्थिर भइरहून् भन्ने उद्देश्यले नाङ्लो ठटाउँदै प्रवेश गर्ने शास्त्रीय विधि रहेको नेपाल पञ्चाङ्ग निर्णायक समितिका अध्यक्ष प्रा डा रामचन्द्र गौतमले बताए ।
विधिपूर्वक लक्ष्मी पूजा गरिसकेपछि श्रीसुक्त पाठ गरिन्छ, लक्ष्मीलाई नरिवल प्रिय लाग्ने भएकाले लक्ष्मी पूजामा जटानरिवल विशेष रुपमा चढाइन्छ, यसबाट श्रीऐश्वर्य प्राप्त हुन्छ भन्ने विश्वास गरिने उनले बताए ।
आजको रात्रिलाई सुखरात्रि भनिन्छ । लक्ष्मी पूजा गरिसकेपछि आजैदेखि देउसी, भैलो खेल्ने परम्परा रहेको छ । लक्ष्मी पूजाका दिन बिहानै गाई पूजा गर्ने प्रचलन समेत रहेको छ । गाईलाई लक्ष्मीकी प्रतिकमा रुपमा मानिन्छ ।