आज कुकुर तिहार : यस्तो छ धार्मिक विश्वास (फोटो फिचर) | ईमाउण्टेन समाचार

Our Network

वैशाख १३ २०८१, बिहीबार

काठमाण्डौँ, १ कार्त्तिक । यम पंचकको दोस्रो दिन कुकुर तिहारको रुपमा सबै नेपालीका घर आगनमा आज कुकुरलाई टीका तथा माला लगाइदिएर कुकुर तिहार मनाईएको छ ।

 

आजका दिन कुकुरको पूजा नगरी खाना खाएमा पापी भइन्छ भन्ने भनाइ छ । प्रत्येक वर्षको कृष्ण चतुर्दशीका दिन कुकुरको पूजा गर्ने गरिन्छ । आजको दिनलाई नरक चतुर्दशी पनि भनिन्छ । यस दिन कुकुरलाई विशेष प्रकारका खानेकुरा खान दिने चलन छ । कुकुर घरपालुवा आज्ञाकारी, घर रक्षक एवम् गुनिलो जनावर पनि मानिन्छ ।

धार्मिक विशवास अनुशार कुकुरलाई भैरवको बहान पनि मानिन्छ । त्यसैगरी विनासकारी प्राकृतिक प्रकोप तथा दैवी विपत्ती हुने बेलामा कुकुरले सुँघेर वा दायाँबायाँ कराई पूर्वसूचना समेत दिने गरेको सुरक्षा निकायको भनाइ छ ।

कुकुर इमान्दार र वफादार जनावर पनि हो । घरको रेखदेख गर्ने काम पनि कुकुरले नै गर्दछ । परापूर्वकालदेखि नै कुकुरलाई वर्षमा एकपटक इमान्दार पहरेदार जन्तुका रूपमा पूजा गर्ने चलन चलिआएको हो । कुकुरको विभिन्न गुणको कदर गरेर हाम्रा अग्रजले वर्षमा एकपटक यमपञ्चकको दोश्रो दिन पारेर पूजा चलन चलाएको मान्न सकिन्छ । त्यस्तै सत्यवादी धर्मराज युधिष्ठिरलाई स्वर्गयात्रामा समेत साथ दिने सौभाग्य पाएको कुकुरको मानव जातिसँंग घनिष्ठ सम्बन्ध रहेको पुराणमा उल्लेख छ । आजका दिन मासको पात खाने चलन छ । लिङ्ग पुराणअनुसार यस दिन मासको पातको साग खानाले मानिसको सबै पाप नास हुन्छन् भन्ने जनश्रुति पाइन्छ ।

आजका दिन पाप नास गर्न तथा नरकलाई खुशी पार्न नर्के नुहाउने चलन छ । नुहाइसकेपछि दीपदान गर्ने तथा आलसको बोट बालेर आगो ताप्ने प्रचलन छ । यसो गर्दा स्वर्ग गइन्छ भन्ने विश्वास छ । यम पञ्चकमा काग, कुकुर, गाई र बहरजस्ता पशुपक्षीको पूजा गरी सम्मान गर्नु प्रकृतिका सबै जीवसँग मानव जातिको सह अस्तित्व रहिआएको छ भन्ने जीवनदर्शनको प्रतीकका रूपमा नेपाली संस्कृतिमा परापूर्वकालदेखि रहेको पाइन्छ ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);