काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले एकता र सहिष्णुता नेपालीको पूँजी भएको बताएका छन् ।
इस्लाम धर्मालम्बीको महान पर्व ईद–उल–फित्रको अवसरमा शुक्रबार शुभकामना सन्देश दिँदै प्रधानमन्त्री ओलीले यही एकता र सहिष्णुताको पूँजीलाई समृद्ध देश निर्माणमा सदुपयोग गर्नुपर्ने बताएका हुन् । ‘एकता र सहिष्णुताको यस पूँजीलाई हामीले समृद्ध देश निर्माणमा सदुपयोग गर्नु पर्दछ’, प्रधानमन्त्रीको शुभकामना सन्देशमा उल्लेख छ ।
विभिन्न धर्म र संस्कृतिमा आधारित पर्व नेपालको राष्ट्रिय एकता, पारस्पारिक सद्भाव र सहिष्णुताका मौलिक पहिचान भएको प्रधानमन्त्रीले बताएका छन् । ‘विभिन्न धार्मिक तथा सांस्कृतिक आस्थाहरु यस देशमा सम्मानित र संरक्षित छन्’, सन्देशमा लेखिएको छ ।
लोकतन्त्र, सामाजिक न्याय, राष्ट्रिय एकता, स्वाधिनता, राष्ट्रिय अखण्डता र देश भक्तिलाई केन्द्रमा राख्दै कायम गरिने अक्षुण एकता, सद्भाव र सहिष्णुता नेपालको राष्ट्रिय विशेषता भएको प्रधानमन्त्रीले बताएका छन् । यसै विशेषतालाई आत्मसाथ गर्दै समृद्ध नेपाल, सुखी नेपालीको आकांक्षा पूरा गर्ने अभियानमा लागेको प्रधानमन्त्रीले स्पष्ट पारे ।
प्रधानमन्त्री ओलीले ईदको अवसरमा सबैमा शुभकामना दिँदै कोभिड महामारीको कारण सुरक्षित भएर पर्व मनाउन पनि आह्वान गरे । प्रधानमन्त्रीले ईदको अवसरमा सम्पूर्णमा सुख शान्ति एवं समृद्धिको कामना समेत गरेका छन् ।
अरवी पात्रो अनुसार रमदान महिनाको अवधिभर राजा बसी नमाज पढेर महिनाको अन्तिम दिन चन्द्रमा उदाए पछि ईद–उल–फित्र मनाइन्छ । ईदमा विशेष नमाज समर्पण गरिसकेपछि आपसमा शुभकामना र आर्शीवचन आदानप्रदान गरिनुका साथै मिष्ठान्न परिकार समेत खाने र खुवाउने परम्परा रहिआएको छ ।
यो दिन गरिबलाई दान गर्ने प्रचन समेत रहेको छ ।
आइ.एन.ए