पोखरा, २९ असोज । जिल्ला समन्वय समिति कास्कीमा चोरी भएको छ। राजश्व शाखाको काण्टरबाट ३ लाख ७७ हजार ९ सय ५० रुपैयाँ चोरी भएको जिसस कास्कीले जनाएको छ। चोरीमा जिससकै सुरक्षा गार्ड डम्बरबहादुर गुरुङले पैसा चोरेको अनुसन्धानका क्रममा खुलेको छ।
प्रहरीले फकाएर सोध्ने क्रममा आफूले नै सेफको छेउमा सानो प्वाल बनाएर ८ हजार ५ सय रुपैयाँ निकालेको स्वीकार गरेका छन्। उनले उक्त रकम कार्यालय परिसरकै धूपीका बोटभित्र लुकाएर राखेका थिए। गुरुङले कार्यालयको १०६ नम्बर कोठाको दराज खोलेर त्यसभित्र रहेको सेफको एक छेउमा सानो प्वाल पारेर रकम निकालेको घटनास्थलको अनुसन्धानपछि प्रहरीले जनाएको छ।
घटना शुक्रबार राति ११ बजेतिरको हो । शुक्रबार राति नै ती गार्डले समितिका एक कर्मचारीलाई फोन गरेर चोरीको बारेमा जानकारी गराएका थिए। त्यसलगत्तै घटनास्थल पुगेको प्रहरीले केरकार गर्दा गुरुङले ५ जनाको समूह आएर आफूलाई डोरीले रुखमा बाँधेपछि उनीहरुलाई चाबी दिएको र त्यसपछि भित्र के भएको हो थाहा नभएको बताएका थिए।
प्रहरीले तत्काल उनलाई नियन्त्रणमा लिएको थियो। ब्लु हेभन सेक्युरिटी कम्पनीमार्फत् गुरुङ २ वर्षदेखि जिविसमा काम गर्दै आएका थिए । उनले शुक्रबार राति मादक पदार्थ सेवन पनि गरेको प्रहरीले जनाएको छ। कम्पनीबाट अर्को सुरक्षा गार्ड मगाएर जिससमा तैनाथ गरेपछि प्रहरीले गुरुङलाई नियन्त्रणमा लिएको हो।