राजकुमार दिक्पाल
गोरखा नामको एउटा सानो पहाडी राज्यका राजा भएपछि पृथ्वीनारायण शाहले अनेक जुक्ति, बुद्धि, छल, बल लगाएर आफ्नो राज्यविस्तार अभियानलाई अगाडी बढाए । उनलाई यस अभियानमा सफलता मिल्नुको मूलकारणमध्ये एउटा पक्ष थियो, स्थायी सैनिक संगठनको प्रवन्ध ।
द्रब्य शाहको पालादेखि नै अज्र्याल, खनाल, पन्थ, पाँडे, बोहरा र राना मगरलाई समेटेर ६ थर प्रभृतिलाई एक प्रकारको स्थायी भारदारीका रुपमा परिचालन गर्ने चलन गोरखामा चलाइएको थियो । राना मगरहरुलाई ६ थर प्रभृतिभित्र राखिए पनि कहिले काहिँ थापा मगरहरुलाई पनि गोरखामा राम्रै जिम्मेवारी दिएर राखिएको पाइन्छ । गोरखामा इमान्दारितापूर्वक लड्ने योद्धा युद्धका क्रममा मर्दा सन्तानलाई जग्गा वा गोरखाली सेनामा जागिर दिने चलन थियो ।
यसरी युद्धमैदानमा मरेका योद्धाका सन्तानलाई सरकारका तर्फबाट दिइएको जग्गा आदि सहायतालाई मरवट भनिन्थ्यो । उदाहरणका लागि शिवराम बस्न्यातका छोरा केहरसिंह बस्न्त्यात वि.सं. १८२८ मा सतहुँको युद्धमा पर्दा उनका नावालक छोराहरु जहरसिंह, कीर्तिमानसिंह र बख्तावरसिंह नावालक थिए । उनीहरुलाई पृथ्वीनारायण शाहले आफ्नो नीतिअनुसार मरवट दिएका थिए । (पन्त, दिनेशराज,‘पूर्णिमा’ पूर्णाङ्क २२–२०२६, साउन भदौ असोजः११७–११८)
यसरी आफ्ना योद्धाहरुको सन्तानलाई संरक्षण गरेर आफूप्रति बफादार हुन आकर्षित गर्ने नीति पृथ्वीनारायण शाहको थियो । केहरसिंहका दुई छोरा कीर्तिमानसिंह बस्नेत र बख्तावरसिंह बस्नेतलाई त गीर्वाणयुद्ध विक्रम शाहको समयमा नायवी लिएकी राजमाता सुवर्णप्रभाले मूलकाजी नै बनाइएकी थिइन् ।
पृथ्वीनारायण शाह सैन्य परिचालनको रणनीतिमा पनि पोख्त थिए । उनको उपदेशमा पनि यो नीति स्पष्ट रुपमा देख्न सकिन्छ ।
पृथ्वीनारायण शाहको उपदेशमा सैन्य संगठन र परिचालनबारे ‘राजालाई चाहिन्या सिपाहिहरुको घरषेत् मिलाइदिनु र मल्जल् गर्छन् र दुवै बोटिभित्र हाल्न पाउछन् र कबिलाको निर्फिििक्र हुन्छ. ढोकामा भया पनि गौडामा भया पनि सिपाहिहरुको छाति बलियो रहन्छ. पजति गर्दामा पनि सये नालका कम्पनी जमाउनु र सये नालका सुवेदार चार पांच लडाञीमा जस पाई आयाका यस्ता आफूले जाचि सुवेदार हाल्नु. सुवेदारले पनि सातपगरि दुई चा बाढ षायाको यस्ता सातपगरि हाल्नु. सातपगरिले स्व¥ह हुदा हाल्दा आफूसित मर्ने मान्र्य जाची १६ हुदा हाल्नु. १६ हुदाले पनि आफुसित मर्ने मान्र्य जाची सिपाही हालि आफ्ना आफ्ना पट्टि पट्टिमा सिपाहि पनि षस् मगर गुरुं ठकुरि इनै चार जात मात्रै षिचोला हाल्नु र तर्वार पर्दा सा¥हो हुन्छ…’ भन्ने परेको छ । (आचार्य, बाबुराम र योगी नरहरिनाथ, ‘बडामहाराजधिराज श्री ५ पृथ्वीनारायण शाहको दिव्य–उपदेश’–२०६१ः५२–५३)
यसबाट पनि पृथ्वीनारायण शाह सैन्य परिचालन गर्नमा कति पोख्त भन्ने स्पष्ट हुन आउँछ ।
पृथ्वीनारायण शाह युद्ध जित्नका लागि स्थायी प्रकृतिको नेपाली सेना पल्टनहरु गठन गरे । उनले कम्पनी (हालः गुल्म) तहका श्रीनाथ, सबुज, कालीवक्स, पुरानो गोरखा र बर्जवानी गरी पाँच वटा पल्टन गठन गरेका थिए । (बस्न्यात, डा. प्रेमसिंह, ‘नेपाली सेना लिगलिगकोटदेखि वर्तमानसम्म’–२०७१ः३८)
कान्तिपुरमा नगरकोटी सेना
स्थायी प्रकृतिको सैन्य संगठन निर्माण गरी युद्ध परिचालन गर्ने पृथ्वीनारायण शाहको नीति थियो भने उपत्यकाका राज्यहरुमा पनि स्थायी प्रकृतिका सेना राख्ने चलन थिएन । पृथ्वीनारायण शाहले उपत्यकाका राज्यहरुलाई चारैतिरबाट घेर्न थालेपछि कान्तिपुरका राजा जयप्रकाश मल्लले कान्तिपुर शहरका नवयुवकहरुलाई सैनिक शिक्षा दिएर गोरखालीलाई रोक्न सक्ने गराउन काँगडाबाट नगरकोटी उस्तादहरु झिकाए ।
काँगडाको किल्लालाई नगरकोट भनिन्थ्यो । नगरकोटीहरुले मुगललाई धपाई त्यहाँ ठकुरीराज्य स्थापना गरिदिएका हुनाले उनीहरु बहादुर कहलाएका थिए । उनीहरु मुगलविरुद्ध लड्दै कुमाउसम्म आइपुगेकोले उनीहरुको ख्याती डोटी, अछाम हुँदै काठमाडौं उपत्यकासम्म आइपुगेको थियो । उनीहरु लडाकु जाति हुनाले सैनिकवृत्ति लिएर अन्यत्र जान गाह्रो मान्दैनथे ।
सन् १७५७ मा शिवरात्रीको मेलामा कान्तिपुर उत्रने गरी डेढ सय नगरकोटीहरु आइरहेका थिए । उनीहरु आइपुगेपछि उपत्यकाका तीनै राज्यमा सैन्य प्रशिक्षणका लागि जयप्रकाश मल्लले नगरकोटीहरुलाई फिजाए । (आचार्य, बाबुराम, ‘श्री ५ बडामहाराजाधिराज पृथ्वीनारायण शाहको संक्षिप्त जीवनी’–२०६१ः२३८–२३९)
त्यसपछि जयप्रकाश मल्ललगायत उपत्यकाका राजाहरुका लागि नगरकोटीहरुले सुरक्षाकर्मी र सैन्य शक्तिका रुपमा गोरखालीहरुविरुद्धको युद्धमा भाग लिएका थिए ।
भक्तपुरको पतन
पृथ्वीनारायण शाहले आफ्नो राज्यविस्तार अभियानका क्रममा वि.सं. १८२५ असोज १३ गते कान्तिपुर हात लिए । कान्तिपुरका राजा जयप्रकाश मल्ल ललितपुर पुगी शरण लिए । असोज २४ गते ललितपुरका प्रधानहरुले पाटन राजधानी गोरखालीसमक्ष समर्पण गरिदिएपछि त्यहाँका राजा तेजनरसिंह मल्ल र जयप्रकाश मल्ल भादगाउँ गए ।
वि.सं. १८२६ कात्तिक २८ गते गोरखालीहरुले भादगाउँ आक्रमण गरे । युद्ध तीन दिनसम्म चल्यो । भादगाउँमा धनजनको ठूलो क्षति भयो । जयप्रकाश मल्लको गोडामा गोली लाग्यो । राजा रणजित मल्लले आत्मसमर्पण गरे । (आचार्य, बाबुराम, ‘पूर्णिमा’ पूर्णाङ्क २७–२०२९ असोजः१६६) भक्तपुरको पतनपछि राज्यविहीन भएका राजा रणजित मल्ल स्वेच्छाले काशीबास गए ।
पृथ्वीनारायण शाहले आफ्ना मीत बुबा रणजित मल्ललाई कुनै ठाउँमा उचित ठाउँ दिएर नजरबन्दमा राख्ने विचार गरेका थिए । तर रणजित मल्लले काशीमै तीर्थबास गरी बिताउने इच्छा देखाए । आफू काशी जाने बेलामा गोरखाली फौजबाट बन्दी बनाइएका आफ्ना मठ्या छोरा अवभूतसिंहलाई पृथ्वीनारायणसमक्ष आग्रह गरी कैदमुक्त गराए । त्यसपछि कान्छी उपपत्नी लिएर उनी काशीबासतिर हिँडे । (आचार्य, बाबुराम, ‘श्री ५ बडामहाराजाधिराज पृथ्वीनारायण शाहको संक्षिप्त जीवनी’–२०६१ः३६०)
रणजित मल्ल काशीबासमा गएर पनि आफ्नो हिजोको राजकीय विरासत फिर्ता गर्न चाहन्थे । उनी आफ्ना छोरा अवभूतसिंहलाई काठमाडौं उपत्यकाको राजा बनाउन चाहन्थे । रणजित मल्लले काशी पुगेर पटनामा कार्यरत एक अँग्रेज अधिकारी अलेक्जेण्डरलाई भेट गर्ने इच्छाका साथ पत्र पनि पठाएका थिए । कलकत्ताको गभर्नरलाई सोधनी हुँदा पत्रको जवाफ नआई रणजित मल्लको देहान्त भयो । (आचार्य, उहीः ३९२)
काशी पुगेका अवभूतसिंहसँग धनको कुनै कमी थिएन । उनीको साँठगाँठ चौदण्डीका राजा कर्ण सेनसँग रहेको थियो । यी दुईको मतोबाट ललितपुरका भूतपूर्व प्रमानहरुसँग मिलेर नगरकोटी सेना लगाई पृथ्वीनारायण शाहको हत्या गर्ने योजना बनाइयो । यसका लागि नगरकोटी सेनाहरु पनि तयार भए । (आचार्य, उहीः ३९३)
त्यतिखेर भक्तपुरका हाकिम भएर कालीदाश खड्का बसेका थिए । उनले यसबारेको गुप्ती कुरा पृथ्वीनारायण शाहसमक्ष बताउने योजना बनाई कान्तिपुर पुगेर भक्तपुरका लागि निम्ता दिए । त्यतिखेर युवराज प्रतापसिंह शाहको अँगरक्षक स्वरुपसिंह कार्की थिए ।
यिनी पहिले कर्ण सेनका काजी भएकाले पृथ्वीनारायण शाह उनलाई त्यति रुचाउँदैनथे । पृथ्वीनारायण शाह भक्तपुर पुगेपछि कालीदाशले उनीमाथि षडयन्त्र भइरहेको अवभूतसिंहसम्बन्धी गुप्ती कुरा खोलेर शंकाको तीर ललितपुरका भुतपूर्व प्रधानहरु र स्वरुपसिंह कार्कीमाथि तेस्र्याए ।
त्यो थाहा पाएर पृथ्वीनारायण शाह काठमाडौं फर्कदै थिए । उनी पालकीमा चढेर फर्कदै थिए । बाटोबाट देखिने लहलहाउँदा हरिया गहुँको दृश्य हेर्दै फर्कदै थिए । अचानक केही नगरकोटीका साथ घोडामा सवार भएर भवानीसिंह देखा परे । भवानीसिंहलाई देख्नासाथ पृथ्वीनारायण शाहले आफ्ना अँगरक्षक श्रीहर्ष पन्थलाई भवानीसिंहलाई पक्राउ गर्ने आदेश थिए ।
यो सुन्नेवित्तिकै भवानीसिंह आक्रमणमा उत्रिहाले । उनले पृथ्वीनारायण शाहसमक्ष तरबार प्रहार गरे । तर तरबार पालकीमा अड्क्यो । उनी गोरखालीहरुको प्रहारबाट ढालिए । उनका अनुचरहरु भागे । त्यसपछि वि.सं. १८२७ चैत ११ गते देवीदास लगायत ललितपुरका ६ जनै प्रमानहरुलाई कटाइ दिए । त्यसपछि घरघरै मानिस पठाई अढाई सय नगरकोटीलाई पनि कटाइ दिए । (आचार्य, उहीः ३९४)
नगरकोटी सैनिकहरुमा नेवार महिलासँग फसेर भक्तपुर इलाकामा घरबार गरी तीन सय जवान जति थिए । आचार्यले अर्को लेखाईमा गोरखाली सैनिक पठाएर तीन सय नगरकोटीलाई मारिएको उल्लेख गरेका छन् । (आचार्य, ‘पूर्णिमा’ पूर्णाङ्क ५०–२०३८ भदौः१९)
यसरी गोरखालीहरुबाट भक्तपुरमा मच्चाइएको नरसंहारबाट बचेखुचेका नगरकोटीहरुले आज नेवारको एक थरका रुपमा आफ्नो अस्तिङ्खव बचाइरहेका छन् ।