पुष्कर भट्ट,
कञ्चनपुर । छिमेकी मुलुक भारतमा कोरोना महामारीकै कारण उपचार नपाएर दैनिक हजाराैँ मानिसको मृत्यु भईरहेको छ भने यतिबेला मजदुरीका लागि भारत पसेका नेपालीहरु रोजगारी गुमेपछि कोरोना कहरकाबीच स्वदेश फर्किरहेका छन् ।
तर पश्चिम नेपाल कञ्चनपुरको गड्डाचौकी नाकाबाट नेपाल प्रवेश गरेका सबै नेपालीको कोरोना परीक्षण नगरिकनै नेपाल प्रवेश गराईरहेका छन् । संक्रमित मुलुक भारतबाट नेपाल आएका नागरिकको कोरोना परीक्षण बिनै घर पठाँउदा कोरोना महामारी थप जटिल बन्दै जाने चिन्ता व्यक्त गरिएको छ ।
हुन त दोस्रो चरणमा देखिएको कोरोना संक्रमणको शुरुवातका बेलादेखि गड्डाचौकी नाकामा कोरोना परीक्षण गरिएको थिएन । बिहीबार र शुक्रबार जिल्ला बाहिरका नागरिकको कोरोना परीक्षण गरिएको छैन । उनीहरुलाई सम्बन्धीत जिल्लाले परीक्षण गर्नुनपर्ने भन्दै परीक्षण बिनै गाडीमा राखेर गन्तव्यसम्म पठाईन लागिएको छ ।
बिहीबार गड्डाचौकी नाका भएर भारतबाट ७ सय ५३ नागरिक भित्रिए, जसमध्ये ५१ जनाको मात्रै एन्टिजिन मार्फत कोरोना परीक्षण गरियो जसमध्ये ४ मा मात्रै कोरोना देखियो । बाँकी ७ सय २ जनाको परीक्षण बिनै घर पठाईयो ।
समान्य गणितिय सिद्धान्तले पनि कुल ५१ को परीक्षण गर्दा आएका सबै ७ सय ५३को परीक्षण गर्दा यही दरमा पनि ५९ जनामा कोरोनो देखिन जान्छ । परीक्षणबिनै लामो यात्रा गर्ने परिपाटीले कोरोना संक्रमण चैनको रुपमा समुदायमा फैलिने देखिन्छ ।
भीमदत्त नगरपालिका गड्डाचौकी स्वास्थ्य डेस्कका इन्चार्ज आकास बाडूलीले स्वास्थ्य र प्रशासन कार्यालयको निर्णय अनुरुप कञ्चनपुर बाहिर घर भएकाको परीक्षण नगरिकनै पठाईन लागेको बताए । उनले भारतको पनि संक्रमित क्षेत्रबाट आएकाको मात्रै परीक्षण त्यसमा पनि रेन्डमका आधारमा परीक्षण गर्न लागिएको बताए ।
बाँकीको हकमा गाडीमा घर पठाईन लागेको बताए । मुलुकमा तीन सरकार छन्, तर नागरिकले भने आफ्नो स्वास्थ्य समेत परीक्षण गर्न नपाएर कोरोना भई आफू र समुदायमा समेत संक्रमण फैलिने जोखिम रहेको छ । कोरोना रोकथाम कार्य र नाका व्यवस्थित नहुँदा कञ्चनपुमा संक्रमित संख्यासमेत बढीरहेको छ ।