कोरोना केही होइन भन्नु ठूलो भुल हो : डा. सापकोटा (अन्तरवार्ता) | ईमाउण्टेन समाचार

Our Network

मंसिर १९ २०८१, बुधवार

कोरोना केही होइन भन्नु ठूलो भुल हो : डा. सापकोटा (अन्तरवार्ता)

काठमाडौं । कोरोना महामारीले विकराल अवस्था आउनसक्छ तर त्यस्तो अवस्था आउनै नदिने उपाय पनि छ’ डा. शान्ता सापकोटा भन्छिन् । भारतमा भयानकसँग फैलिएको महामारीले चिन्तित बन्नुभएकी डा. शान्ता नेपालमै पनि बढिरहेको संक्रमणले झन् चिन्तित छिन् ।

नेपालको अग्रणी बीर अस्पताललाई निर्देशकका रुपमा नेतृत्व दिइरहेकी डा. शान्ता सापकोटाले नेपालमा भारतमा जस्तो भयावह स्थिति आउन नदिन आफै सतर्क हुनु पर्ने बताएका छन् । उनले भनिन् ‘महामारीमा बीर अस्पतालले कति थेग्छ भन्ने मुख्य कुरा होइन । मुख्य कुरा अस्पताल नै नपुग्ने वातावरण हामी बनाउन सक्छौं कि सक्दैनौं भन्ने हो ।’ उनको अपिल छ स्वास्थ्य रक्षाका लागि बनाइएका मापदण्ड कडाईसाथ हरेक मानिसले पालना गर्नुपर्छ, अनिमात्र महामारीबाट बच्न सकिन्छ ।

डा. शान्तासँगको कुराकानीको मुख्य अंश :

कोभिड—१९ को दोस्रो लहरसँगै अक्सिजनको अभाव भएको हो ? छिमेकी भारतमा अक्सिजन अभावले भयाभह स्थिति भएको छ, नेपालकै जेठो बीचर अस्पतालमा चाहिँ के छ अक्सिजनको अवस्था ?

हामीलाई तनाव छ, जरुरत पनि छ तर अभाव र समस्या नै भने भइसकेको छैन । आगामी दिनमा यदि साँच्चै नै महामारी बढेमा के हुन्छ भन्न सकिने अवस्था छैन । सायद यो ‘अनप्रेडिक्टेबल’ नै होला । विशेषगरी हामी भारतको अवस्थाले चिन्तित छौं ।

बीर अस्पतालमा आफ्नै अक्सिजन प्लान्ट छ। त्यो अहिले बिग्रिएको छ । हामी बनाउने प्रयास गरिरहेका छौं । एक दुई दिनमा बन्छ भन्ने मलाई जानकारी आएको छ । अक्सिजनको लिक्विड प्लान्ट पनि राख्ने कुरा भइराखेको छ । हाम्रो अक्सिजन सप्लायर्ससँग मैले भरखरै कुरा गरेकी थिएँ, उहाँले निरन्तर अक्सिजन पठाउँछु भन्नुभएको छ । हामी सप्लायर्ससँग सिलिण्डरमा अक्सिजन लिइरहेका छौं ।

सप्लायर्सले चाहिने जति दिन तयार छु भन्नुभएको छ । अन्य दिनको भन्दा केही धेरै अक्सिजन चाहियो भने पनि हामी थेग्न सक्छौं । तर, ठूलो महामारी फैलियो भने चाहिँ त्यो अवस्थामा केके हुन्छ केही पनि भविष्यवाणी गर्न सकिँदैन ।

अस्पतालको अक्सिजन प्लान्ट कहिले सम्ममा बन्छ ?

यो अहिले पनि बन्ने क्रममै छ । केही उपकरणमा समस्या आएकाले ढिलो भइरहेको छ । तर यो चाँडै बन्छ भन्ने खबर मलाई आज विहान मात्रै प्राप्त भएको छ । यसको सामान फ्रान्सबाट ल्याउनु पर्छ । फ्रान्समा लकडाउन भएकाले ल्याउन सकिएको छैन । उताबाटै सामान ल्याउनुप¥यो भने केही ढिला हुन सक्छ । तर उताको सामान नआए पनि बन्न सक्ने अवस्था देखिएको छ । यतैका प्राविधिकहरुले यहिँ उपलब्ध सामानबाट बनाउने प्रयास गरिरहेका छन् सायद यो बन्छ अब ।

बीर अस्पतालसँग भएको प्लान्टले आफै अक्सिजन उत्पादन गर्छ कि बाहिरबाट ल्याएर हाल्नुपर्छ ?

हो, यो प्लान्टले आफं अक्सिजन उत्पादन गर्छ । बाहिरबाट ल्याउनु पर्दैन । यो प्लान्टले वायुमण्डलमा रहेको अक्सिजनलाई शुद्धिकरण गरेर मेडिकल ग्रेडको बनाउने काम गर्छ । प्लान्टले आफैं उत्पादन गर्ने हो, अन्तबाट ल्याउनु पर्दैन । हामीले यो प्लान्ट सञ्चालन भइसकेपछि पनि लिक्विड अक्सिजन ल्याएर हाल्ने खालको प्लान्ट राख्ने योजना बनाइरहेका छौं ।

यो प्लान्ट बनेपछि अस्पतालका लागि पर्याप्त अक्सिजन उत्पादन गर्छ ?

यो प्लान्ट बनेपछि पूर्ण रुपमा काम गरेको खण्डमा अस्पतालका लागि आवश्यक अक्सिजन उत्पादन गर्छ । यसले चौविसै घण्टा निरन्तर उत्पादन गरिरहन्छ । पहिला पनि पर्याप्त उत्पादन गरिरहेको थियो तर बिग्रियो । यसले अस्पतालको आवश्यता पुरा गर्छ । यो मेसिन चाँडै बन्नेमा म आशावादी छु ।

अहिले विर अस्पतालमा दैनिक कति सिलिन्डर अक्सिजन खपत भइरहेको छ ?

अहिले दैनिक सरदर एक सय देखि दुई सय ४० वटा सिलिण्डर खपत भइरहेको छ । यो सबै ठूलो सिलिन्डर हो । यति सिलिन्डरले कोभिडका विरामी, अन्य विरामीको लागि आइसीयु र भेन्टिलेटरमा पनि पुगिरहेको छ । पोहोर कोभिडको हाइ पिकमा पुग्दा दुई सय ५० सिलिन्डर सम्म खपत भएको थियो ।

अक्सिजन अभाव हुन्छ भन्ने जुन किसिमको तनावमा सर्वसाधारण छन्, उनीहरुले तनाव नलिए हुन्छ त ?

कति अभाव हुन्छ भन्नेमा चर्चा नै नगरौं । अस्पतालमा मानिस नपुग्ने वातावरण बनाउँ ।अक्सिजन र अन्य सामान नपुग्ने हो कि भनेर आत्तिनु भन्दा महामारी नै आउन नदिने वातावरण बनाउनुपर्छ । अस्पतालमा महामारी समुदायबाटै आउने हो । महामारीलाई कम्युनिटिमै ब्रेक गरौं । अस्पतालसम्म महामारी आइपुग्नै नदिउँ ।

हाम्रै लापरवाहीले महामारी फैलिरहेको छ । काठमाडौंका चोकचोकका चियापसलहरुमा हेर्नुस्, मास्क नलगाई, भौतिक दूरी पनि नबनाई मानिसहरु निर्धक्क भेला भइरहेका छन् । सडकमा गएर हेर्ने हो भने स्वास्थ्य सुरक्षाका मापदण्ड पालना गरिएको छैन । आफैं मापदण्ड उल्लंघन गर्ने अनि महामारी आयो भन्दै आत्तिने ? यो त अनैतिक भयो । हामी आफैले रोगलाई निम्त्याइरहेका छौं, आफैंले काललाई निम्त्याइरहेका छौं ।

त्यसैले, स्वास्थ्य सुरक्षाका मापदण्ड पालना गरौं, मास्क लागाऔं, सामाजिक दुरी कायम गरौं, स्यानिटाइटर प्रयोग गरौं, साबुन पानीले हात धोऔं, अनावश्यक भिडभाडमा नजाऔं । बिना काम घर बाहिर ननिस्कौं ।सबै जना इमान्दार भएर स्वास्थ्य मापदण्डहरुको पालना गर्ने हो भने महामारीलाई अहिलकै अवस्थामा सीमित राख्न सकिन्छ । लापरवाही गर्ने हो भने जटिल अवस्था आउने छ ।

भारतमा पनि भएको त्यही हो । त्यहाँ स्वास्थ्य सुरक्षाका आधारभूत मापदण्ड पालना गरिएन । कोरोना भनेको केही होइन भन्ने मानसिकता हावी भयो । त्यसैले भारतमा अहिलेको विकराल अवस्था आयो । नेपालले चाहिँ लापरवाही नगरौं, हरेक मानिस सजग बनौं, आफू पनि बचौं र अरुलाई पनि बचाऔं ।

आफूलाई संक्रमण नहुँदासम्म कोभिड भनेको केही पनि होइन भन्ने मानसिकता छ, त्यसो भन्नेहरुलाईके भन्नुहुन्छ ?

कोरोना केही पनि होइन भन्नु ठूलो भुल हो । यस्तो गल्ती नगर्नुस् । कोभिडबाट संक्रमण हुने भनेको हाम्रो फोक्सोमा हो । फोक्सोलाई खराब बनाइदिन्छ । फोक्सो खराब भएपछि श्वासप्रश्वासमा गाह्रो हुन्छ । अनि अक्सिजनको जरुरुत पर्दछ । यसको उपचार नै छैन । उपचार भनेकै अक्सिजन हो । फेरी अक्सिजन दिँदैमा उपचार हुन्छ भन्ने छैन । त्यसले केही समयका लागि काम गर्ने हो । तपाइँको फोक्सोले नै काम गर्न छोडेपछि अक्सिजनले तपाईंलाई बचाउँदैन । फेरी त्यही अक्सिजन पनि अभाव भइरहेको सबैलाई थाहा छ । त्यसैले कोरोनालाई केही पनि होइन भन्ने सोचबाट मुक्त हुनुस् । रोग लाग्छ निको हुन्छ भन्ने सोचबाट मुक्त हुनुस् । जसरी हुन्छ, रोग लाग्न नदिउँ भन्ने सोच हुनु प¥यो ।

अहिले कोभिडको दोस्रो मात्रा खोप पनि लगाइँदै छ । खोप लगाइसकेकाहरुले चाहिँ स्वास्थ्य मापदण्ड पालना गर्न आवश्यक छ की छैन ?

खोप लगाएकाहरुले स्वास्थ्य रक्षाका मापदण्ड झन् पालना गर्नुपर्छ । खोपले शतप्रतिशत काम गर्छ भन्ने ग्यारेन्टी छैन । खोपले केही मात्रामा प्रतिरोध गर्ने मात्रै हो । खोप लगाउँदैमा काभिड लाग्दै लाग्दैन भन्ने छैन । किनभने खोप लगाएकाहरु पनि संक्रमणको सिकार बनेका छन् । ज्यान गुमाएका छन् । खोप लगाउन आवश्यक छ तर खोप लगाउँदैमा सुरक्षित छु भन्ने ठान्नु हुँदैन । खोपले संक्रमण हुने संभावना अलि कम गराउँछ, मृत्युदर पनि घटाउँछ तैपनि खोपको लगाएर लापरवाह नबनौं ।

एम्बुलेन्समा सुतेर अस्पताल पुग्नुपर्ने अवस्था सिर्जना नगरौं । सकेसम्म घर बाहिर ननिस्कौं । अनावश्यक काममा नहिँडौं । यदि स्वास्थ्यमा समस्या आएमा सामान्य ठानेर हेल्चेक्राईं नगरौं । समस्या आएमा आफूलाई तुरुन्त आइसोलेट गरेर परिवार र समाजलाई जोगाउने काम गर्नुपर्छ ।

महामारी नियन्त्रणको काम अस्पताल, डाक्टर र सरकारको मात्र हो भन्ने भ्रममा नपरौं । हरेक नागरिक जिम्मेवार र सचेत भइयो भने मात्र जोगिन सक्छौं । तपाईंको लापरवाहीका कारण तपाईंको परिवार र समाजले दुःख पाउने अवस्था आउन सक्छ । त्यसैले म विनम्र आग्रह गर्दछु– कुनै पनि हालतमा लापरवाही नगरौं ।

आइएन्ए

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);