एजेन्सी । कोरोना महामारीको आँधी थेग्न मुस्किल भईरहेको भारतलाई संक्रमण नियन्त्रणका लागि विश्वका विभिन्न मुलुकहरुले सहयोग गर्ने भएका छन् । अमेरिकासहित कैयन् मुलुकहरुले भारतलाई आपत्तकालीन मेडिकल सहयोग गर्ने वाचा गरेका हुन् ।
यसको सुरुवात अमेरिकाले खोप बनाउन आवश्यक कच्चा पदार्थ निर्यातमा लगाएको प्रतिबन्ध फुकाएर गरेको छ ।
भारतले महामारीको सुरुवाती चरणमा अस्पतालहरुको सहयोगका निम्ति मदत गरेको र अहिले अमेरिका भारतलाई मदत गर्न दृढ रहेको अमेरिकाका राष्ट्रपति जो बाइडेनले बताएका छन् ।
केही दिन अघि भने अमेरिकाले भारतमा आस्ट्राजेनेका खोप निर्माणका लागि आवश्यक कच्चा पदार्थ निर्यातमा प्रतिबन्ध लगाएको थियो । यसको चौतर्फी आलोचना भएको थियो ।
भारतीय अधिकारीहरू तथा सिरम इन्स्टिच्युट अफ इन्डियाले अमेरिकालाई यस्तो प्रतिबन्ध हटाइदिन भनेपछि अमेरिकाले यस्तो निर्णय गरेको हो । आफूकहाँ अधिक भएका खोप विदेश पठाउन ढिलाइ गरेकोमा पनि वाशिङ्टनको आलोचना भएको छ ।
अमेरिकाले भारतलाई मेडिकल तथा सुरक्षा उपकरण पनि पठाउँदैछ । अमेरिका तीन सय ८० अक्सिजन कन्सन्ट्रेटर भारत पठाउनका लागि एयर इन्डियामा लोड गरिसकेको छ । जुन दिल्ली प्रस्थान गरिसकेको छ ।
यसअघि पाकिस्तालले पनि भारतलाई कोरोना नियन्त्रणमा आवश्यक सहयोग गर्न तयार रहेको बताइ सकेको छ । केही दिन अघि नै पकिस्तानी प्रधानमन्त्री इमरान खानले आफ्नो ट्विीटरमा मानवता सबैभन्दा पहिला आउने बताउँदै भारतमा कठिन घडीमा सहयोग गर्न पाकिस्तान तयार भएको उल्लेख गरेका थिए ।
त्यसैगरी, यूकेले भारतमा भेन्टिलेटर तथा अक्सिजन कन्सन्ट्रेटर उपकरणहरू पठाउन थालेको छ । यूकेले पठाएका सहयोग सामग्रीको पहिलो लट मंगलबार भारत पुग्ने बताइएको छ । थप सहयोग पनि यसै साता पुग्ने बताइएको छ।
भारतका अधिकांस अस्पतालहरुमा अक्सिजन अभाव भईसकेको छ जसले गर्दा मृत्युदर पनि बढेको त्यहाँको स्वास्थ्य संस्थाहरुले बताउँदै आएको छ ।
भारतमा पछिल्लो २४ घण्टामा मात्रै साढे ३ लाखभन्दा बढीमा संक्रमण पुष्टि भएको छ भने दुई हजार ८ सयभन्दा बढीको मृत्यु भएको छ ।