काठमाडौं। नेपाल सुपर लिगको पहिलो संस्करणको खेल शनिबारबाट काठमाडौंमा शुरु हुने भएको छ । आयोजक नेपाल स्पोर्टस म्यानेजमेन्टले शुक्रबार काठमाडौँमा आयोजना गरिएको प्रि टुर्नामेण्ट पत्रकार सम्मेलनमा बोःल्दै सबै टिमका प्रशिक्षक र कप्तानहरुले आफूहरुको तयारी राम्रो रहेको धारणा राखेका छन ।
सात टिमको सहभागिता रहेको प्रतियोगिताको उद्घाटन खेलमा शनिबार काठमाडौं रेजर्स र ललितपुर सिटी एफसीबीच प्रतिस्पर्धा हुने छ । टिम धनगढीका प्रशिक्षक युगल किशोर राईले तयारीको समय कम भएपनि सक्दो राम्रो प्रशिक्षण गरेको बताए ।
यस्तै कप्तान किरण चेम्जोङले तयारीको समय थोरै भए पनि आफ्नो टिमको क्षमतालाई राम्रोसंग प्रदर्शन गर्ने बताएका छन। त्यस्तै, विराटनगरको प्रशिक्षक यान ल ले राम्रो प्रतियोगिताका लागि तयारी पनि राम्रो रहेको र सबै खेलाडीले मेहेनत गरेको बताए ।
यस्तै कप्तान रजिन धिमाललले तयारी राम्रो भएको र आफूहरुको लक्ष्य उपाधि जित्ने नै रहेको बताए । बुटवल लुम्बिनीका प्रशिक्षकले पनि तयारी राम्रो रहेको र विदेशी खेलाडी पनि राम्रो रहेका धारणा राखे । यस्तै कप्तान विशाल श्रेष्ठले पनि टिमको तयारी राम्रो रहेको बताए ।
काठमाडौँ रेजर्सका कप्तान बालगोपाल महर्जनले तयारी राम्रो रहेको र खेलाडीले पनि राम्रो प्रशिक्षण पाएको बताए । यस्तै कप्तान विकेश कुथुले नेपाल सुपर लिग निकै ठूलो प्ल्यार्टफर्म रहेको र यसको राम्रोसँग सदुपयोग गर्ने धारणा राखे ।
पोखराका प्रशिक्षक राजेश शाहीले टिमले घरेलु मैदानमा नै प्रशिक्षण गरेकाले पनि राम्रो भएको बताए । त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा आयोजना हुने लिगको उद्घाटन खेलमा काठमाडौं रेजर्स फुटबल क्लब र ललितपुर सिटी फुटबल क्लबबीच प्रतिस्पर्धा हुनेछ । उद्घाटन खेल भोलि (शनिबार) हुनेछ ।
काठमाडौं र ललितपुरबीचको खेल साँझ ५ः३० बजे सुरु हुनेछ ।दोस्रो दिनबाट भने हरेक दिन दुई खेल हुनेछ । अखिल नेपाल फुटबल संघ (एन्फा) को प्राविधिक सहयोगमा हुने लिग राउण्ड रोबिनको आधारमा हुनेछ । जेठ १ सम्म सञ्चालन हुने लिगमा कुल २५ खेल हुनेछ ।