इटहरी । बलियो र ५ वर्षको ग्यारेण्टी भएकै कारण पनि इन्टरलक कंक्रिट पेभर्सबाट सडक बनाउने क्रम बढेको छ ।
कालोपत्रेमा ग्यारेण्टी वारेण्टी नहुने, पानीका कारण बनेको एक वर्षमै सडकमा खाल्डा खुल्डी हुन थालेपछि बजेटको दुरुपयोग हुने र सर्वसाधारणलाई सास्ती हुने भएकाले विकल्पमा नयाँ प्रविधि पेभर्सको प्रयोग गरिएको हो ।
अहिले इटहरीमा प्रमुख सडक बाहेक भित्री सडकहरूमा इन्टरलकबाट सडक निर्माणको काम धमाधम भइरहेको छ ।
इन्टरलक कंक्रिट पेभर्सबाट सडक निर्माण गर्दा कालोपत्रे गरेकै लागतमा तयार हुने र आकर्षण पनि देखिने भएपछि यो पद्धति स्थानीयको रोजाइमा परेको हो ।
इटहरी क्षेत्रमा ४–५ वर्षदेखि शुरु भएको इन्टरलकमा उपभोक्ताहरूलाई काम गर्न सजिलो, मेसिन औजारहरू नचाहिने भएकाेले पनि लोकप्रिय बन्दै गएको इञ्जिनियर किष्ण सेढाइको भनाइ छ ।
बाटो बनाएको ठाउँमा भत्काएर पनि अर्को ठाउँमा राख्न सकिने र भूकम्प प्रतिरोधात्मक भएकाले भित्री सडकहरूमा धेरै उपयुक्त हुने कम्पनीको दावी छ । अहिले भीडभाड नहुने बाटोमा इन्टरलकबाट सडक बनाउने क्रम बढेको छ भने सडक सुन्दर देखिएका छन् ।