काठमाडौं, २६ चैत। प्रतिनिधिसभाका विभिन्न समितिमा सदस्यहरु हेरफेर हुने भएका छन् । फागुन २३ गते सर्वोच्च अदालतले तत्कालीन एमाले र माओवादी केन्द्र ब्यँुताई दिएपछि समितिमा सदस्यहरु हेरफेर हुन लागेका हुन् ।
बिहीबार बसेको प्रतिनिधिसभाको बैठकमा विशेष समय लिएर बोल्दै एमालेका सांसद खगराज अधिकारीले नेकपाको हैसियतमा विभिन्न समितिहरुमा प्रतिनिधित्व गरेको भएपनि अब त्यसको औचित्य समाप्त भएको बताए ।
उनले अब आफ्नो पार्टीले समितिमा एमालेको हैसियतमा प्रतिनिधित्व गर्ने भएकोले प्रमुख सचेतकको सिफरिसमा प्रतिनिधित्व गराउन माग गरे । त्यसरी प्रतिनिधित्व नगराए असंवैधानिक हुने भएकोले त्यस्तो काममा एमाले साक्षी नबस्ने बताए ।
त्यसको जवाफ दिंदै सभामुख अग्नि सापकोटाले प्रमुख सचेतकसंग नाम माग्ने कार्यव्यवस्था समितिमा छलफल भएकोले ती नाम संसदमा पेश गरिने जानकारी दिए ।