काठमाडौं, २६ असोज । विधेयकको प्रस्तावनादेखि सम्बन्धनको प्रक्रियासम्म राजनीतिक दलबीच विवाद भएपछि चिकित्सा शिक्षा विधेयक संसद्मै रोकिएको छ। संसदीय समितिले तयार पारेको प्रतिवेदनमा अनशनरत डा. गोविन्द केसीले असन्तुष्टि जनाएपछि विधेयक अगाडि बढ्न नसकेको हो।
डा. केसीको मागअनुसार विधेयक परिमार्जनमा राजनीतिक दलबीच विवाद छ। नेपाली काँंग्रेसले विधेयकको प्रस्तावना र कलेज सम्बन्धनलाई डा. केसीको मागअनुसार अगाडि बढाउन समितिको प्रतिवेदन संशोधनको पक्षमा उभिएको छ। नेकपा (एमाले) भने समितिले पारित गरेको प्रतिवेदनका आधारमा विधेयक पारित गर्ने पक्षमा छ।
दलीय विवादका कारण पछिल्ला बैठकहरूमा नियमित रूपमा विधेयक सम्भावित कार्यसूचीबाट हट्दै आएको छ । सम्भावित कार्यसूचीमा प्रकाशित भएपछि नियमित रूपमा विधेयक हट्ने गरेको हो। बुधबार पनि विधेयक पारित गर्ने सम्भावित कार्यसूची संसद् सचिवालयले प्रकाशित गरे पनि अन्तिम समयमा हटाइएको हो।
संसद् सचिवालयका प्रवक्ता भरतराज गौतमले प्रतिवेदनसहितको विधेयक समितिले संसद्मा प्रस्तुत गरे पनि पारित भई नसकेको बताए। गौतमले भने, ‘समितिले प्रतिवेदन प्रस्तुत गरेको अवस्था छ तर, विधेयक पारितको प्रक्रिया अघि बढेको छैन।’ समितिले प्रतिवेदन तयार पारी दसैँअघि नै संसद्मा प्रस्तुत गरेको थियो। तर, विवादका कारण विधेयक पारित हुन सकेको छैन। आजको गोरखापत्र दैनिकमा खबर छ।