भौगोलिक बनावटकै कारण पनि काठमाण्डौ उपत्यका जोखिमको केन्द्रमा छ । त्यसमाथी उपत्यकाको प्रदुषण नियन्त्रणमा राज्यको उदासिनताले राजधानी शहर काठमाण्डौ लगायतका उपत्यकाका तीनै शहर यतिबेला प्रदुषण युक्त तुँवालोको चपेटामा परेको छ । बितेका तिन महिनामा काठमाण्डौ दुई पटक विश्वकै सबैभन्दा प्रदुषित शहरको पहिलो सूचीमा पर्न जाँदा पनि राज्य र सरोकारवाला निकायको ध्यान यसको न्युनिकरण तर्फ गएको पाईएको छैन ।
यसअघि गत पुस २० गते उपत्यकामा फैलिएको तुवाँलोको घनत्व ४ सय ८७ एक्युआई (एयर क्वालिटी ईण्डेक्स) मापन गरिएको थियो भने चैत १३ गतेको तुवाँलोको घनत्व ४ सय ७० एक्युआई रहेको थियो । जुन तथ्यांक विश्वमै प्रदुषित मानिएका शहरहरुको भन्दा बढी हो । भौगोलिक रुपमै कचौरा आकृतीमा रहेको उपत्यकाको वायु प्रदुषण न्युनिकरणका लागि सरकारले कार्यक्रम भने नल्याएको हैन ।
सरकारले यसअघि ‘काठमाडौं उपत्यकाका लागि वायु गुणस्तर व्यवस्थापन कार्ययोजना–२०७६’ नै तयार गरेको हो । तर आजसम्मको प्रगती हेर्दा, सरकारी प्रयास कागजमा मात्रै सिमित देखिएका छन् । वायु प्रदुषणको जिम्मेवारी पाएका निकायहरु प्रदुषण नियन्त्रणका नाममा सभा र गोष्ठीको आयोजनामा मात्रै ब्यस्त देखिएका छन् । गत चैत १३ गते शुक्रबारको मध्यान्हबाट जनजीवनमै असर पार्ने गरि उपत्यकामा फैलिएको तुवाँलोको राज यो आलेख तयार पार्दासम्म जारी नै छ ।
विश्व स्वास्थ्य संगठनले तयार गरेको मापदण्डले वायुको गुणस्तर सूचकांक ३ सयभन्दा बढी हुनु ‘घातक’ मानेको छ । तर, उपत्यकामा शुक्रबार ४ सय ७० सम्म रेकर्ड भएको एक्युआई शनिबार ४ सय नाघेको थियो । उपत्यकाको वायुमण्डलको यहि विषाक्तताका आधारमा स्विट्जरल्यान्डस्थित ‘आईक्यू एअर’ ले काठमाडौंलाई विश्वका ९४ प्रदूषित शहरमध्ये पहिलो प्रदुषित शहरका रुपमा घोषणा गरिदिएको छ ।
विश्व स्वास्थ संगठन अनुसार एक्यूआई घनत्व ३५ भन्दा कम भएको वायुलाई उत्तम मानिएको छ । यसैगरि ५१ देखि १ सयसम्मको एक्यूआईलाई सामान्य र एक्यूआई २ सय १ भन्दा माथि पुगे धेरै अस्वस्थ्यकर हुन्छ । स्वयं नेपाल सरकार आफैंले गत वर्षमात्रै सार्वजनिक गरेको काठमाडौं उपत्यकाका लागि वायु गुणस्तर व्यवस्थापन कार्ययोजनामै एक्यूआई ३ सय नाघे विपद्को अबस्था भनेर स्विकार गरिसकेको छ ।
गत शुक्रबार देखि हालसम्म तुवाँलोकै कारण ‘लो भिजिविलिटी’ भएको भन्दै काठमाण्डौ अन्तराष्ट्रिय विमानस्थल हुँदै नेपालका बिभिन्न गन्तब्य सहित अन्तराष्ट्रिय उडानमा रहेका झण्डै १ सय २४ उडान समेत रद्द हुन पुगेका छन् । यतिबेला काठमाण्डौमा फैलिएको यो तुवाँलो काठमाडौं आसपासका विभिन्न जिल्ला समेत लाङटाङ निकुञ्जमा लागेको डढेलोको धूवाँका कारण सिर्जना भएको भनेर वातावरण्को क्षेत्रमा रहेर काम गरिरहेका अभियन्ताले बताईरहँदा स्वयं वातावरण विभाग भने भारतबाट भित्रिएको प्रदुषित हावाका कारण उपत्यका लगायत देशका बिभिन्न क्षेत्रमा तुवाँलो फैलिएको बताएर आफ्नै जिम्मेवारीबाट पन्छिन खोजिरहेको देखिन्छ ।
यतिबेला उपत्यकामा फैलिएको तुवाँलो कै कारण जनजिवन नै त्रस्त देखिएको छ । प्रदुषित हावा मिश्रित तुवाँलोकै कारण फोक्सोको रोग, मुटुको रोग, निमोनिया, मस्तिष्कघात, कम तौल वा समय नपुग्दै बच्चा जन्मिनेजस्ता समस्या हुने भएकै कारण पनि आम नागरिकमा यसले चिन्ता थप्नु स्वभाविक नै हो । वायु प्रदुषण न्युनिकरणमा काम गरिरहेको अन्तराष्ट्रिय गैह्र सरकारी संस्था, ‘स्टेट अफ ग्लोबल एयर–२०२०’ ले प्रदुषणकै कारण निम्तिने रोगबाट नेपालमा बर्सेनि ४२ हजार भन्दा बढी नागरिकको मृत्यु हुने गरेको जनाएको छ । डब्लूएचओकै अनुसार पनि सन् २०१८ मा नेपालमा प्रदूषणका कारण करिब ३७ हजार जनाको मृत्यु भएको थियो ।
यी खराब सुचक र उपत्यकामा फैलिएको यो विषाक्त हावाले उपत्यकामा रहेको प्रदुषित धुलोका कणमात्रै हैन, यसको न्युनिकरणमा देखिनु पर्ने सरकारी जाँगर समेत बोकेको छ । प्रदुषण नियन्त्रणका लागि हप्तै जसो काठमाण्डौका पाँच तारे होटेलमा महंगा सभा र सेमिनारको आयोजना गरिन्छ । योजना बन्दछन्, तर बनाइएका योजना मन्त्रालय वा विभागमा थन्किन्छन् । सरकारले कार्यान्वयनका लागि छुट्याएको बजेट सभा सेमिनार र भ्रमण मै सिद्धिन्छ । यस्तै, काठमाडौं उपत्यका नगरपालिका फोरमले उपत्यकाको प्रदूषण नियन्त्रण गर्न दुई वर्षअघि नै पास गरेको ९ बुँदे प्रतिबद्धता यतिबेला कहाँ छ, त्यो प्रतिबद्धता पास गर्नेले पनि बिर्सेको हो कि भन्नु पर्ने अबस्था छ ।