एजेन्सी, १५ चैत। म्यानमारमा प्रदर्शनकारीमाथि सुरक्षाकर्मीले चलाएको गोली लागेर १ सय १४ जनाको मृत्यु भएको छ ।
सुरक्षाकर्मीको ज्यादतीको विरोध गर्दै प्रजातन्त्रको पक्षमा सडकमा उत्रिएकाहरुमाथि सेनाले गोली चलाउँदा उनीहरुको मृत्यु भएको हो ।
शनिबार सैनिक दिवसका दिन सडकमा उत्रिएका प्रदर्शनकारीमाथि सुरक्षा बलले चलाएको गोली लागेर बालबालिकासहित १ सय १४ जनाभन्दा बढी व्यक्ति मारिएको बीबीसीले जनाएको छ भने स्थानीय सञ्चार माध्यमहरुले मृतकको संख्या यकिन हुन नसकेको बताइरहेका छन् ।
शनिबार सैनिक दिवसको अवसरमा सैनिक प्रमुख जनरल मिनले राष्ट्रिय टेलिभिजनमार्फत सम्बोधन गर्दै प्रजातन्त्र पुर्नस्थापनाको वाचा गरेकै दिन यति धेरै जनाले ज्यान गुमाएको हो । सत्ता सम्हालिरहेको सैनिक जुन्टाले प्रदर्शनको लागि सडकमा निस्किए टाउको वा ढाडमा गोली हान्ने चेतावनी समेत दिएको थियो ।
गत फेब्रुअरी १ मा सेनाले निर्वाचित सत्ता हत्याएर शक्ति आफ्नो हातमा लिएसँगै हुँदै आएको प्रदर्शनको क्रममा शनिबार सबैभन्दा बढी नागरिकको मृत्यु भएको बताइएको छ ।
घटनालाई लिएर अमेरिका, बेलायत तथा युरोपेली युनियनका अधिकारीहरुले निन्दा गरेका छन् ।
म्यानमारमा फेब्रुअरी १ यता ज्यान गुमाउनेको संख्या चार सय नाघेको छ ।