एजेन्सी, ११ चैत । साउदी अरेबियाले युद्धविरामका लागि यमनसँग आग्रह गरेको छ ।
६ वर्ष भन्दा लामो जारी यमनको युद्ध अन्त्यका लागि साउदी अरेबियाले नयाँ शान्ति योजना प्रस्ताव अघि सारेको हो ।
साउदीले आफू समर्थक यमनको सरकार र इरानको समर्थन रहेको हुथीविद्रोहीबीच संयुक्त राष्ट्रसंघले सुपरीवेक्षण गर्ने गरी युद्धविराम गर्न प्रस्ताव गरेको छ । यो प्रस्तावमा राजनीतिक वार्ता सुरु गर्न र महत्वपूर्ण हवाई तथा जलमार्ग पुनः खोल्ने विषय पनि समेटिएको बीबीसीले जनाएको छ ।
साउदीले गरेको यो आग्रहलाई यमन सरकार र संयुक्त राष्ट्रसंघले साउदीको युद्धविरामको योजनाको स्वागत गरेका छन् । तर हुथी विद्रोहीहरूले भने युद्धविरामको प्रस्तावमा नयाँ कुरा नभएको प्रतिक्रिया दिएको छ । हवाई र जलमार्गमा लगाइएको नाकाबन्दी हटाउनुपर्नेमा उसको जोड रहेको छ ।
६ वर्षभन्दा लामो समयदेखि जारी युद्धमा यमनमा एक लाख १० हजारभन्दा बढी मानिसको मृत्यु भइसकेको छ । लगातारको युद्धका कारण यमनका ८० प्रतिशत भन्दा बढी सर्वसाधारणलाई मानविय सहायताको खाँचो रहेको संयुक्त राष्ट्रसंघले जनाएको छ ।