एजेन्सी, ६ चैत । सामिया सुलुह हसन तान्जानियाको पहिलो महिला राष्ट्रपति बनेकी छिन् । तान्जानियाका राष्ट्रपति जोन मगुफुलीको ६१ वर्षको उमेरमा गएको बुधबार निधन भएपछि सामिया सुलुह हसन राष्ट्रिपति बनेकी हुन् ।
हसनले शुक्रबार राजधानी दारेसलाममा सेनाको परेडबीच राष्ट्रपति पदमा सपथग्रहण गरेकी हुन् । राष्ट्रपति मगुफुलीको मुटु रोगको उपचारका क्रममा निधन भएपछि उपराष्ट्रपति हसनले राष्ट्रपतिको पदभार ग्रहण गरेकी हुन्।
सपथ ग्रहणका क्रममा हसनले इमानदार भई व्यवहार गर्ने र तान्जानियाको संविधान रक्षा गर्ने वचन दिएकी छिन्। संविधान अन्तर्गत हसनले मगुफुलीको दोस्रो– चरणको बाँकीे अवधिमा काम गर्नेछिन् । सो अवधि सन् २०२५ सम्म रहनेछ ।
पूर्व राष्ट्रपति जोन मगुफुली सन् २०१५ मा पहिलो पटक राष्ट्रपति निर्वाचित भएका थिए । तान्जनियाको संविधान अनुसार राष्ट्रपतिको पाँच वर्षे कार्यकाल गत वर्ष समाप्त भएको थियो । गत वर्ष अक्टोवरमा भएको चुनावपछि उनी दोस्रो कार्यकालका लागि निर्वाचित भएका थिए ।