सत्तारुढ दल नेकपा एमाले नेतृत्वपंक्ति भित्रको अन्तरसंघर्षको स्वरुपले पार्टीलाई अनौपचारिक रुपमा विभाजित गरिसकेको अवस्था छ । पार्टी विभाजन भएको औपचारिक घोषणा कसले गर्ने भन्ने तय हुन मात्रै बाँकी हो । पार्टी भित्रको अन्तरसंघर्षको स्वरुपलाई हेर्ने हो भने कार्यकर्ता पंक्ति नै अन्योलमा देखिएका छन् । एमाले पार्टी भित्रको कलहको कारण वैचारिक र सैद्धान्तिक तहको भएको भए पार्टी कार्यकर्ताहरुले सहजै अनुमान लगाउने थिए ।
अमुक समूहले अमुक विचार र सिद्धान्तलाई अस्विकार गरेकै कारण पार्टी भित्र विवाद बढेको हो । तर पछिल्लो चरणमा अनौपचारिक रुपमै फुटिसकेको यो पार्टी भित्रको विवादको मुल चुरोमा त्यस्तो कुनै वैचारिक र सैद्धान्तिक पक्षको उपस्थिति नै पाईंदैन । पार्टी सत्तारुढ भए लगत्तैबाट सुरु भएको आन्तरिक विवादको क्रममा सत्ता बाँडफाँड र पार्टीमा जिम्मेवारी नपाएको बिषय नै विवादको मूल कारणको रुपमा लिइएको पाईएको छ ।
पार्टी र सरकारमा भागबण्डा नमिलेकै कारण यतिबेला पार्टीको नेतृत्वमै बसेका र पार्टीका तर्फबाट सरकारको नेतृत्वमै रहिसकेका पार्टीकै वरिष्ठ नेताद्वय झलनाथ खनाल र माधवकुमार नेपालले यतिबेला समूह नै बनाएर पार्टी अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीका विरुद्धमा सुरु गरेको विद्रोहले पार्टी एक ढिक्कामा कायमै रहने कुनै छेकछन्द पाईएको छैन । त्यसमाथि पार्टी संस्थापनका विरुद्ध खनाल नेपाल पक्षले सानेपा हाईटमा आयोजना गरेको दुईदिने कार्यकर्ता भेलाले त पार्टी फुटकै चरणमा प्रवेश गरिसकेको छनक दिएको छ ।
छिमेकीको फराकिलो घर देखेर डेराको लालचमा आफ्नै घरमा आगो लगाउने धृष्टतापूर्ण जुन कर्म यतिबेला एमाले भित्र देखिएको छ, त्यो कार्यले पार्टीको अस्तित्व नै धरापमा पार्ने निश्चित छ । यसमा यतिबेला विवादमा रहेका दुबै पक्षले गम्भीर भएर सोच्नै पर्ने भएको छ । हो, प्रधानमन्त्री तथा अध्यक्ष ओलीले पार्टी भित्रको विवाद समाधानका लागि पहल गर्नु भएकै हो ।
तर, प्रधानमन्त्रीले विवाद समाधानका लागि पहल गरिरहेकै अवस्थामा प्रधानमन्त्रीकै नाकमुनीबाट उहाँ निकटकै व्यक्तिहरुबाट असन्तुष्ट रहेका नेताहरुको मानमर्दन गर्ने र उहाँहरु प्रति आफ्नै धरातल बिर्सिएर सुरु भएका नकारात्मक प्रचारबाजीले प्रधानमन्त्रीको उक्त प्रयासलाई समेत नाटकीय बनाई दिएको अहिलेको अवस्था हो । पार्टी भित्रको विवाद समाधानका लागि नेपाल खनाल पक्ष गम्भीर देखिएको छैन ।
संस्थापन पक्षको अस्तित्वलाई स्वीकार नगर्ने अबस्थामा नेपाल पक्ष छ । यस्तोमा यी मिलनका सबै उपक्रम बन्द गरेर आआफ्नो बाटो लाग्नु नै उपयुक्त हुन्छ । किनपनि भने विवादको अहिलेको स्वरुप हेर्दा नेतृत्वले चाहेर मात्रै यो विवाद मिल्ने सम्भावना त्यतिकै छ, जति सम्भावना, बेंसीको कुलोबाट लेकमा पानी पु¥याउनमा हुन्छ । पार्टी र सत्ताको भागबण्डामा केन्द्रित रहेर सुरु भएको यो विवाद यतिबेला जुन तहमा पुगेको छ, यसलाई सम्बोधन गर्दा पार्टी भित्र अझ विकृति भित्रिने संस्थापन पक्षको धारणा हो भने, जे हुँदै छ त्यसै अनुसार हुन दिनु राम्रो ।
कोही भागबण्डा नै नमिलेको भन्दै एउटा मिशन नै बनाएर पार्टीमा गलफत्ती गरिरहेको छ र त्यस्तो लाग्दछ भने त्यस्तालाई पार्टीमै राखिरहने सोच नबनाएकै राम्रो हो । संस्थापन विरुद्ध पार्टी भित्र विद्रोह नै गर्ने घोषित रणनीति नै बनाएर यतिबेला एमालेको जस्केलो कुरेर एउटा समूह बसेको छ । पार्टी भित्रै बिग्रह ल्याउने ध्येयले जस्केलो कुरेर बसेको त्यो समूहसँग अध्यक्ष तथा प्रधानमन्त्री ओलीले मित्र मिलनको प्रयास गरिरहनु भएको छ ।
आफ्ना अडान र माग संस्थापन पक्षबाट पूरा गराएरै छाड्ने अभिष्ट बोकेको त्यो समूह नेतृत्वलाई दबाबमै राख्नका लागि यतिबेला कार्यकर्ता भेलाका नाममा पार्टीमै समानान्तर संगठन निर्माण गरेर जाने धृष्टता संयोजन गरेर बसेको छ । यी यावत् खेल र प्रकृतिलाई हेर्दा पार्टीले ठोस निर्णय लिएर अगाडि बढ्नै पर्ने र यस्ता विकृतिलाई पाखा पार्नै पर्ने अवस्था यतिबेला देखिएको छ ।
उपयुक्त समयमा उपयुक्त निर्णय लिन नसकेको अवस्थामा पार्टीले व्योहोर्ने क्षतिको आँकलन सहजै लगाउन सकिने अहिलेको परिस्थिति हो । यसर्थ पनि एमालेको वर्तमान नेतृत्वले अलोकप्रिय नै सहि, तर निर्णयमा कुनै प्रकारको ढिलाई गर्न चुक्नुहुन्न । तर हेर्दा कतै नेतृत्व निर्णयमा चुक्ने त हैन भन्ने शंकाले यतिबेला पार्टीमा शुद्धीकरण चाहने नेता तथा कार्यकर्ताहरुका मनमा डेरा जमाएर बसेको छ ।