दाङ, २९ फागुन। तुलसीपुर उपमहानगरपालिकाले कानुन निर्माणलाई तिव्रता दिदै आएको छ । शुक्रवारको नगर सभामा मात्रै आधा दर्जन बढी ऐनहरु पेश भएका छन् ।
नगर प्रवक्ता एवम् सुशासन समितिका संयोजक सूर्यबहादुर डाँगीले वातावरण तथा जैविक विविधता संरक्षण विधेयक , जलाधार संरक्षण विधेयक , तुलसी मेडल तथा मानपदवी/ पदक सिफारिस तथा प्रदान गर्ने सम्बन्धि विधेयक, तुलसीपुर जनशक्ति स्रोत केन्द्र सञ्चालन तथा व्यवस्थापन गर्न वनेको विधेयक, स्थानीय तथ्याङ्क र अभिलेख संकलन विधेयक, स्थानीय अभिलेख व्यवस्थापन विधेयक, विपद् जोखिम न्युनिकरण तथा व्यवस्थापन ऐन सभामा पेश गरेका थिए ।
स्थानीय सरकार सञ्चालन ऐन अनुसार नगर सभाको बहुमतले विधेयक पास गर्ने प्रावधान रहेको छ । नगरप्रमुख घनश्याम पाण्डेको अध्यक्षतामा बसेको नगर सभामा उपप्रमुख माया शर्माले विभिन्न योजना संशोधन तथा रकमान्तरण सम्बन्धि प्रतिवेदन पेश गरेकी थिइन् ।
नगरसभाको बैठकले विधान समिति संयोजकमा कार्यपालिका सदस्य अमर नेपाली माइकललाई चयन समेत गरेको हो ।
त्यस्तै , उपमहानगरपालिकाको लोगो सार्वजनिक गरिएको छ । आठाँै नगरसभाको पहिलो बैठकमा तुलसीपुर उपमहानगरपालिका १५ निवासी प्रेमराज चौधरीले बनाएको लोगोलाई उत्कृष्ट लोगोका रुपमा सार्वजनिक गरिएको हो । उपमहानगरपालिकाको सबै पहिचान झल्कने कुराहरुलाई समेटेर लोगो निर्माणका लागि सार्वजनिक सूचना आह्वान गरिएको थियो । प्रतिस्पर्धामा १७ वटा लोगो प्राप्त भएको र त्यसको छोटो सूची तयार पारेर ३ वटा लोगो कार्यपालिकाको बैठकमा पेश गरिएको सूचना अधिकारी बाबुराम न्यौपानेले जानकारी दिए ।
कार्यपालिकाको ९८ औँ बैठकले अन्तिम लोगो छनोट गरेको थियो । उत्कृष्ट लोगो बनाउनेलाई उपमहानगरपालिकाले २० हजार पुरस्कारको घोषणा समेत गरेको छ । मंसिर १५ गते लोगो निर्माणका लागि सार्वजनिक आह्वान गरिएको थियो । नगरसभाको बैठकमा नगरप्रमुख पाण्डेले आधिकारीक लोगोका रुपमा अब प्रयोगमा ल्याइने बताए । उनले लोगोले तुलसीपुरको पहिचानलाई बलियो बनाउने विश्वास लिएको समेत बताए ।