काठामाडौं, २३ फागुन । सांसद देव गुरुङले ओली र दाहाल नेतृत्वको नेपाल कम्युनिष्ट पार्टी नेकपाको नाम ऋषि कट्टेललाई दिने सर्वोच्चको निर्णयलाई “बेठिक टाईम”को न्यायको संज्ञा दिएका छन् ।
संसदीय दलका नेता परिर्वतनको सूचना दर्ता गराएर निस्कंदै गर्दा संसद सचिवालय सिंहदरबारमा संचारकर्मीलाई फैसला बारे प्रारम्भीक प्रतिक्रिया दिदै नेता गुरुङले “बेठिक टाईम”मा न्याय दिने काम भएको बताएका हुन् । उनले अदालतको फैसलाले दलको आधिकारिकता सम्बन्धी निर्वाचन आयोगको अनिर्णयको अवस्थालाई अझै मद्दत पुग्न सक्ने बताए ।
फैसलासंगै पूर्व नेकपा एमाले र पूर्व नेकपा माओवादी केन्द्रलाई व्युँताई यथास्थानमा गयो भन्न नमिल्ने उनको तर्क छ । उनले पार्टी एकीकरण पछि ३ बर्षमा धेरै कामहरु भएको र त्यसलाई सरकारले पनि स्वामित्वमा लिएकाले नाम परिवर्तन हुँदैमा एकीकरणका सबै अवयव मेटिन नसक्ने उल्लेख गरे । उनले सर्वोच्च अदालतको फैसलालाई नमान्ने कुरा नभएपनि यसले विभिन्न ठाउँमा साईड इफेक्ट पार्ने बताए ।