काठमाडौं, २३ फागुन। उद्योग, वाणिज्य तथा आपूर्ति राज्यमन्त्री विमला विकले भौतिक पूर्वाधार निर्माणका कामलाई अगाडि बढाउँदा भुगर्भ विज्ञानको अध्ययन गर्नुपर्ने आवश्यकता रहेको बताएका छन् ।
आइतबार दशौँ नेपाल भौगर्भिक सम्मेलन २०२१ को उद्घाटन गर्दै राज्यमन्त्री विकले सरकारले विकास निर्माण र भौतिक संरचना निर्माणका धेरै कामहरु अगाडि बढाएको भन्दै ती कामहरुलाई व्यवस्थित ढंगले अगाडि बढाउनको निम्ति भुगर्भ विज्ञानको सही अध्ययन, अन्वेषण गर्नुपर्ने आवश्यकता रहेको बताएकी हुन् ।
विकास निर्माणका कामलाई दुरगामी गराउन र देशलाई समृद्ध बनाउनको निम्ति सरकारले गर्ने कामहरुलाई भुगर्भ विज्ञानसँग जोडेर व्यवस्थित गर्नैपर्ने उनको जोड छ । त्यसगरी, कार्यक्रममा बोल्दै राष्ट्रिय पुनर्निर्माण प्राधिकरणका प्रमुख कार्यकारी अधिकृत सुशील ज्ञवालीले भौतिक संरचना भुकम्प प्रतिरोधी नभएका कारण भुकम्पका कारण धेरै क्षति बेहोर्नुपरेको बताए ।
भौतिक पूर्वाधार निर्माणमा भुगर्भको अवस्था अनुसार ध्यान दिनुपर्ने भएपनि त्यसो हुन नसकेको उनको गुनासो छ । पछिल्लो समय सरकार र इन्जिनियरिङ क्षेत्रमा भुर्गभको अध्ययन गर्नुपर्ने बुझाइ क्रमश बढ्दै गएको भन्दै ज्ञवालीले यसको निम्ति भुगर्भविद्हरुको योगदान महत्वपूर्ण हुने उल्लेख गरे ।