जनताले जतिसुकै आक्रोश पोखेपनि अझै केही वर्ष यही ४–५ जना नेताहरुकै हातमा देशको बागडोर जाने निश्चित नै छ । सायद नेपाली जनताले पूर्वजन्ममा यी व्यक्तिहरुको ठूलै ऋण खाएकोले पनि हुनसक्छ । ऋण चुक्ता नभएसम्म यिनीहरुको मुक्ति नभएसम्म देशको मुक्ति हुनेपनि देखिँदैन । देशको एजेन्डा कहिल्यै बोक्न नपर्ने, विकासको खाका दिमागमा कहिल्यै नआउने, जनतालाई जुधाएर आफ्नो अभिष्टमै दिनरात केन्द्रित हुने अनि छिमेकीको कम्फर्टेबलमा रमाउने विचित्रको राजनीति नै देशको हुनसम्मको अभिशाप हो भन्नु अतिशयोक्ति सायद नहोला ।
देशमा बर्षौंपछि एउटा आशालाग्दो बहुमतको सरकार गठन भएको थियो, शान्ति र स्थिरताको जन आशा ठूलै थियो । सरकार यथासक्य कामकाजी पनि देखिएकै थियो । विदेशीका कम्फर्टेबल शक्तिलाई यो पचेन र घनघोर उखर्माउलो सिर्जना गरियो, ठाउँ ठाउँमा अवरोध गरियो, हातखुट्टा बाँधियो, अब अन्तिम क्षणको प्रतिक्षा होला सायद । विजय उत्सवको तयारी, छिट्टै कम्फर्टेबल विजय हुने समाचारले बजार गर्मिएको छ ।
झन्डै दुइतिहाईको सरकार चलाउन नसकेको आरोप आफ्नै पार्टी नेतालाई लगाउँदै प्रतिपक्ष नेतालाई सरकारको नेतृत्व सुम्पिनुलाई राजनीतिक उल्लास मान्नुपर्ने बिडम्बनाले भोलिको राजनीतिको मार्गचित्र स्पष्ट हुन्छ । नेपाली कांग्रेसको नेतृत्वमा बन्ने सम्भावित चुनावी सरकारले सहयोगीहरुलाई भोट लिन कति कम्फर्टेबल होला ? त्यो त भोलि देखिएला नै । तर देशले भने एउटा महत्वपूर्ण अवसर गुमाउने छ, ३ वर्ष सम्मका पूर्वाधार गतिविधिको प्रवाह खण्डित हुनेछ ।
दलगत भागबण्डाले पराकाष्ठा नाघ्नेछ, विकृति विसंगति र भ्रष्टाचारले सीमा नाघ्नेछ, विकास बजेट उपलब्धीहिन बन्दै नेताका चुनाव खर्चमा परिणत हुनेछ । नेतृत्व पंक्तिका खासखास कार्यकर्ताहरु नवधनाढ्य जस्ता देखिनेछन्, विदेशीहरु धेरै कम्फर्टेबल अवस्थामा देखिनेछन् । त्यतिमात्र होइन, छिमेकीसंग समान हैसियत राख्नुपर्छ भन्ने सरकारी विचार अब सधैंको लागि खण्डित हुनेछ । अब बन्ने सरकारले भारतबाट आउने तरकारी र फलफूलको विषादी परीक्षणका कुरा, सीमा समस्या त के विचाराधीन नागरिकता कानुनलाई समेत छिमेकी कम्फर्टेबलमा परिणत गरिदियो भनेपनि अन्यथा मान्नुपर्ने छैन ।
हामीले चाह्यौ भने जस्तो सुकै बहुमतको सरकार पनि गिराइदिन सक्छौं, भन्ने आत्मबल छिमेकीमा देखिनेछ । यी सबै परिणाममा खुशी भैदिने आफ्नै देशका नेता बन्ने निश्चित छ । आफ्नो नागरिकबाट उपेक्षित नेतृत्वले सधैं विदेशीको मुख ताक्छ भन्ने भनाइ यतिखेर अरु प्रभावी देखिदैछ । पार्टी मिलाइदिन विदेशी, सरकार बनाउने समीकरण बनाउन विदेशी, पार्टी अध्यक्ष् र नेता छान्न विदेशी, अनि स्वदेशी भोट चाहीं प्राविधिक कुरा मिलाउन मात्र जस्तो देखिने अवस्थाले नै आजको राजनीतिको बिडम्बनालाई चित्रण गर्दछ ।
देश भित्र भएका उपलब्धी हेर्न र देख्न पनि राष्ट्रिय आँखा नै चाहिँदो रहेछ । केही वर्ष देखि अवशेष जस्तो देखिएको सत्र हजार नरसंहारको कथाको निरन्तरता भंग भइ नेकपा विप्लवसँगको सम्झौता सम्झिन पनि कम्फर्टेबल मानिएन । यो प्रसंगसँगै राजनीतिका मसिहा हुन्छु भन्नेहरु कति असहिष्णु छन् भन्ने पनि देखिँदैछ ।सबै पक्षले विचार गर्नुपर्ने विषय के हो भने, नेपाली जनता सधैंभरि विकल्परहित रुपमा यही बुढ्यौलीको पछि मात्र लाग्छन् भनेर सोच्नु सर्वथा अनुचित नै हुन्छ ।
दूधको दूध, पानीको पानी जनताले छुट्याएको दिन आज नेतृत्वले चाहेको मान÷अपमानमा परिणत हुन केही समय लाग्दैन । सुझबुझ सहितको राजनीतिले मात्र नेतालाई नेताको पदवी दिन्छ र जीवन पर्यन्त दिइरहन्छ । पदलोलुप नेताको होइन, अभिभावक नेताको देशलाई खाँचो छ ।