काठमाण्डौँ, २२ असोज । स्थानीय तहको निर्वाचन लगत्तै राजनीतिक दलहरु प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनको चटारोमा छन् ।
शीर्ष दलसहित अन्य राजनीतिक दलहरु प्रतिनिधिसभा र प्रदेशसभाको लागि उम्मेदवारी चयनमा व्यस्त छन् । हालै स्थानीय तहको निर्वाचन सम्पन्न भएको सिरहामा संघीय फोरमले उम्मेदवार सिफारिस टुंगो लगाएको छ ।
संघीय फोरमका अध्यक्ष उपेन्द्र यादव सिरहा १ नम्बर क्षेत्रबाट प्रतिनिधिसभा सदस्यका लागि उम्मेदवार सिफारिस भएका छन् । सिरहाको १ नम्बर क्षेत्र मधेस आन्दोलनको उद्गमथलो लहान नगरपालिका सहितको क्षेत्र हो । यता एमालेले पनि यही क्षेत्रबाट अध्यक्ष केपी शर्मा ओलीको नाम सिफारिस गरेको छ ।
लहान नगरपालिकाको चुनावमा एमालेले कांग्रेसलाई पराजित गर्दा फोरम तेस्रो स्थानमा थियो । सो क्षेत्रबाट यादवसँगै केन्द्रीय सदस्य सत्यनारायण यादवको नाम पनि सिफारिस भएको छ ।
संघीय फोरमले प्रदेश सभा निर्वाचनको लागि पनि सबै निर्वाचन क्षेत्रमा आफ्ना उम्मेदवारको नाम टुङ्गो लगाएको छ ।