“निर्वाचन आयोगलाई पार्टीको आधिकारिकता सम्बन्धीमा छिट्टै निर्णय गर्न अनुरोध”
काठमाडाैं, १७ फागुन । नेपाल कम्युनिष्ट पार्टी नेकपाको दाहाल–नेपाल पक्षले पार्टी स्थायी कमिटी र केन्द्रीय समितिको बैठक बोलाउने भएको छ । सोमबार बिहान सिंहदरबारस्थित नेकपा संसदीय दलको कार्यालयमा बसेका सचिवालयको बैठकले स्थायी कमिटी र केन्द्रीय समितिको बैठक बोलाउने निर्णय गरेको हो ।
सचिवालय बैठकले पछिल्ला राजनीतिक घटनाक्रमको सन्दर्भमा छलफल गर्न छिट्टै स्थायी कमिटी र केन्द्रीय कमिटीको बैठक बोलाउने निर्णय गरेको प्रवक्ता नारायणकाजी श्रेष्ठले बताए ।
उनले भने– ‘पार्टीको सचिवालय बैठकले पछिल्लो राजनीतिक घटनाक्रमका सन्दर्भमा पार्टीको स्थायी कमिटी र केन्द्रीय कमिटीको बैठक छिट्टै बोलाउने निर्णय गरेको छ ।
त्यसैगरी बैठकले पार्टीको आधिकारिकताको लागि आफुहरुले गरेको दाबीका आधारमा संविधान र दल ऐन अनुरुप छिट्टै निर्णय गर्नको निम्ति अनुरोध गरेको पनि प्रवक्ता श्रेष्ठले जानकारी दिए ।
पार्टीको आधिकारिकता निरुपण नहुँदा कानुनी उल्झन खडा भएको भन्दै छिनोफानो गरिदिन आग्रह गर्ने निर्णय गरेको श्रेष्ठको भनाई छ । उनले भने–साथसाथै निर्वाचन आयोगले पार्टीको आधिकारिकता सम्बन्धीमा हामीले दाबी गरेको अनुरोधका आधारमा संविधान र दल ऐन अनुरुप छिट्टै निर्णय गर्नका निम्ति पनि हामीले अनुरोध गरेका छौँ ।
केन्द्रीय कमिटीको बैठक भने यही फागुन १९ गते दिउँसो १ बे पार्टी कार्यालय पेरिसडाँडा, काटेश्वरमा बस्ने तय भएको नेकपाका केन्द्रीय सदस्य विष्णु रिजालले जानकारी दिएका छन् ।