एजेन्सी, १७ फागुन।इटालियन सिरी ए फुटबलमा इन्टर मिलानले सहज जित निकालेको छ ।
आइतबार राति घरेलु मैदानमा भएको खेलमा मिलानले जिनोआलाई ३–० गोल अन्तरले पराजित गरेको हो । मिलानलाई जित दिलाउन रोमेलु लुकाकु, माटियो डारमेन र एलेक्सिस सान्चेजले एक/एक गोल गरे । खेलको पहिलो मिनेटमै लुकाकुले गोल गर्दै टोलीलाई अग्रता दिलाएका थिए ।
त्यस्तै खेलको ६९ औं मिनेटमा माटियोले गोल गरेपछि २–० अग्रता बन्यो भने ७९ औं मिनेटमा सान्चेजले गोल गर्दै मिलानलाई ३–० को जित दिलाए । जितसँगै इन्टर मिलानले २४ खेलबाट ५६ अंक जोड्दै शीर्ष स्थानमा ७ अंकको अग्रता बनाएको छ ।
दोस्रो स्थानको एसी मिलानको ४९ अंक रहेको छ भने जिनोआ २६ अंक जोडेर १३ औं स्थानमा रहेको छ ।