एजेन्सी, २५ माघ । भारतको उतराखण्डको चमोली जिल्लामा रहेको हिमनदीमा आएको बाढीले ऋषिगंगा बाँधमा कार्यरत करिब एक सयजना मजदुर बेपत्ता भएका छन् भने दुईजनाको शव भेटिएको छ ।
हिमनदी फुटेर नदीमा देखिएको बहाब अब नियन्त्रणको नजिक रहेको छ । तर तपोवन रिणीमा बनाइएको पावर प्रोजेक्ट भने नदीमै बगेको छ । भारतीय सेनाले उत्तराखण्डका मुख्यमन्त्री त्रिवेन्द्र सिंह रावतलाई बाढीबारे जानकारी गराएको बताईएको छ ।
सेनाका अधिकारीहरुका अनुसार चार ट्रक, सेना, दुई मेडिकल र एक इन्जिनियरिङ टास्कफोर्स सहयोग गर्न पठाइएको छ । उत्तराखण्डका मुख्यमन्त्री त्रिवेन्द्र सिंहले बिहानै करीब १० बजे ऋषिगंगाको माथिबाट हिमनदी फुटेको जानकारी दिनु भएको भारतीय सञ्चार माध्यमले जनाएका छन् ।
बाढीको प्रत्यक्ष असर १३ दशमलव १२ मेगावाट क्षमताको ऋषिगंगा प्रोजेक्टमा परेको छ । मानवीय क्षति कति भएको भनेर अहिलेसम्म खुलाईएको छैन । हिमनदीको बहाबको कारण ऋषिकेश तथा हरिद्वारमा अवस्थित गंगा नदी किनारमा मानिसहरुलाई नजान चेतावनी दिइएको छ ।
हरिद्वारमा कुम्भ मेलाको आयोजना गरिएको र त्यहाँ हजारौ भक्तजनको भीड लागेको छ । यस्तै युपीको कन्नौज जिल्ला प्रशासनले पनि उच्च सतर्कता अनाएको छ भने डीएम बैठक डाँकेर गंगा तटमा बसेका सबैलाई सतर्क गराइएको छ ।