विप्लवमाथिको प्रतिवन्ध फुकुवा हुनुपर्छ : प्रचण्ड | ईमाउण्टेन समाचार

Our Network

चैत ४ २०८२, बिहीबार

विप्लवमाथिको प्रतिवन्ध फुकुवा हुनुपर्छ : प्रचण्ड

ललितपुर २३ माघ । नेकपा दाहाल– नेपाल पक्षका नेकपा अध्यक्ष प्रचण्डले विप्लव माथिको प्रतिबन्ध फुकुवा हुनुपर्ने बताउनुभएको छ । शुक्रबार ललितपुरमा आयोजित अनलाईन सम्पादकहरुसंगको अन्तरक्रिया कार्यक्रममा उहाँंले यस्तो बताउनुभएको हो। ‘ त्यो बेला म पार्टी अध्यक्ष थिएँ कसैलाई थाहा नदिई विप्लवमाथि प्रतिबन्ध लगाईयो, प्रतिबन्ध फुकुवा गरेर वार्ताको टेबुललमा ल्याउनुको बिकल्प छैन’ उहाँले भन्नुभयो।

सधै आम हड्ताल गर्दैनौ
कार्यक्रममा बोल्दै अध्यक्ष प्रचण्डले आफुहरु सधै आम हड्ताल गर्ने पक्षमा नभएको बताउनुभयो। उहाँंले बिहीबारको हडताल बाध्य भएकोले गर्नुपरेको भन्दै क्षेमा समेत माग्नुभयो। प्रचण्डले अब संयुक्त हड्ताल हुन सक्ने र त्यो जनताबाट हुने दावी गर्नुभयो ।

एमसीसी आफुहरुको घोषित नारा होईन
आम हड्तालका क्रममा एमसीसीको विरोधमा लागेको नारा घोषित नभएको उहाँले बताउनुभयो। प्रचण्डले आफुहरु एमसीसीको पक्षमा नरहेपनि यसबेला त्यो सान्दर्भिक नभएकोले त्यसलाई बन्द गर्न निर्देशन दिएको बताउनुभयो ।

प्रधानमन्त्री ओलीले गृहयुद्ध निम्त्याउन खोेजे
अध्यक्ष प्रचण्डले प्रधानमन्त्री ओलीले संविधान कुल्चिएर देशमा गृह युद्ध निम्त्याउन खोजेको आरोप लगाए। ‘ म त फेरि कुनै युद्धको कल्पना गर्न सक्दिन, तर यस्तै तारिकाले चल्ने हो भने कसै न कसैले विद्रोह गर्न सक्छ’ उहाँले भन्नुभयो। प्रचण्डले प्रधानमन्त्री ओलीले दक्षिणपन्थसंग आत्मसमर्पण गरेको आरोप लगाउनुभयो ।

सबैभन्दा ठुलो सेटिङ जनतामा छ
अहिले प्रतिनिधिसभा विघटनको मुद्धा अदालतमा बिचाराधीन रहेको र त्यो सबै संविधान बमोजिम हुने भएकोले त्यसमा कुनै सेटिङ नहुने उहाँले बताउनुभयो। अदालत र निर्वाचन आयोगमा कुनै सेटिङ हुने छैन, त्यो सबै कानून र संविधान बमोजिम हुने छ, यदि त्यो सेटिङ भएमा सबै भन्दा ठुलो सेटिङ जनताको हुने छ’ प्रचण्डले भन्नुभयो ।

म पनि अचम्मको भावुक छु
कार्यक्रममा बोल्दै अध्यक्ष प्रचण्डले आफु पनि अचम्मको भावुक भएकोले ओलीलाई पहिलो अध्यक्ष भनिदिएको बताउनु भयो। ‘पार्टीको बिधानमा को पहिलो अध्यक्ष भनि उल्लेख छैन, दुबै अध्यक्ष बराबरी भन्ने छ, तर ओलीले आफु पहिलो अध्यक्ष मौखिक दावी गर्दा मैले हुन्छ भनिदिएको मात्र हो, निर्वाचन आयोगमा यसरी पहिलो दावी गर्ने थाहा पाएको भए ज्यान गए पनि मान्ने थिईन’ उहाँंले भन्नुभयो। ओलीलाई अध्यक्षबाट हटाएर माधव नेपाललाई अध्यक्ष बनाउनु स्वभाविक भएको दावी गर्दै प्रचण्डले पार्टीको विधानमा दुई अध्यक्ष भन्ने उल्लेख भएको तर को को अध्यक्ष भनेर नाम उल्लेख नभएको बताउनुभयो।

बन्दमा गाडी चढने बिषयमा सचेत भएँ
बन्दमा आफुले गाडी चढेर अनुगमन गर्नु आफ्नो बाध्यता भएको प्रचण्डले बताउनुभयो। उहाँले अनुगमनका लागि पैदल हिड्दा समय नपुग्ने भएकोले आफुले बाध्य भएर गाडी चढेको बताउनुभयो। उहाँले यो बिषयमा आलोचना भएपछि आफु सचेत भएको उहाँले बताउनुभयो।

यो मामला अब हाम्रो मात्र रहेन
अर्का अध्यक्ष माधवकुमार नेपालले केपी ओलीले पार्टीमात्र होइन देश नै कब्जा गर्न लागेकाले अहिलेको विवादलाई नेकपाको आन्तरिक मामिलामात्र नसोच्न आग्रह गर्नुभयो ।

नेपालले भन्नुभयो ‘केपीले पार्टी त कब्जा गरे गरे देश नै कब्जा गर्न लागे। यो नेकपाको मात्र आन्तरिक मामिला हैन। लोकतन्त्र र संविधानको रक्षाको लागि हामी जिल्ला जिल्लामा पुग्यौं । अब यो हाम्रोमात्र मामिला रहेन ।’

Leave a Reply