अहिले नेपाली राजनीतिमा ‘प्रतिगमन’ शब्द चर्चित बनेको छ । गत पुस ५ गते प्रधानमन्त्रीबाट प्रतिनिधि सभा विघटन गरिएकोलाई नेकपाका दाहाल–नेपाल पक्षले प्रतिगमन भनेको छ भने अन्यले असंवैधानिक भनेका छन् । यही दुई शब्दको झन्डा बोकेर आआफ्नो बाहुबल अनुसार जनतालाई सडकमा उतारिएको छ, अनि सडक बहस जारी छ । राजनीति गन्तव्यविहीन जस्तो देखिँदैछ, कोलाहलपूर्ण र अनिश्चित जस्तो पनि देखिँदैछ ।
प्रधानमन्त्रीद्वारा गरिएको प्रतिनिधि सभा विघटन संबैधानिक छ कि छैन, अदालतमा बहस जारी छ, अदालतले न्याय निरुपण गर्ने नै छ । तर यहाँ ‘प्रतिगमन’ भन्ने सडक आवाज तर्फ भने धेरैले जवाफ पाएका छैनन् । प्रधानमन्त्रीको कदम प्रतिगमन हो कि होइन, गम्भीर भएर सोच्नुपर्ने बेला आएको छ । नेकपामा असमझदारी बढेपछि सो पार्टी का अध्यक्ष एवं प्रधानमन्त्रीले नयाँ जनादेशको लागि भन्दै प्रतिनिधि सभा विघटन गर्नुभयो, तर राज्य संरचनाका सबै निकायहरु यथावत छन्, अर्थात निर्वाचन मिति तोकिएको छ ।
अदालत आफ्नो जिम्बेवारी प्रति यथावत कार्यरत छ, व्यवस्थापिका अन्तर्गत पनि माथिल्लो सदनलाई उसको कामबाट बन्चित गरिएको छैन । प्रेस जगत पूर्ण स्वतन्त्रताका साथ सक्रिय छन्, सुरक्षा निकायदेखि अन्य संवैधानिक निकाय समेत पूर्ववत नै क्रियाशिल छन्, अनि केही थान सांसदहरुको जागिर जाँदैमा प्रतिगमन कसरी भन्न मिल्छ होला ?
हुनत चर्का नारा दिनमा पोख्त नेतृत्व क्षमताले गर्दा सधैं चर्चित रहने अनि अहिलेको राजनीतिलाई प्रतिगमन देख्ने नेताहरुका भनाईहरु जनताले कति पत्याउलान् ? त्यो त समयले बताउला । तर जनतापनि जस्तो भाषण नेताले ग¥यो त्यही पत्याउने स्तरबाट भने माथि उठ्नु जरुरी छ । जनताले बुझ्नुपर्यो कि यो सत्ता को झगडा नै हो । यत्रा ठूलाठूला महामारीका बीच कहिलै जनताका नजिक नदेखिएकाहरु अहिले आआफ्नो जागिर गएर अस्त्वि संकटमा परेपछि सत्ताको र अस्तित्वको निरन्तरताको निमित्त मात्र जनतासँग गुहार माग्न पुगेका हुन् ।
नयाँ जनसरोकारका कुनै मुद्दा छैन, देश विकासको खाका छैन, केवल सत्तामा रहनेको उछित्तो काढ्ने र सत्ताको अपील गर्ने बाहेक कुनै नयाँ कुरा छैन । अनि के को लागि जनताले सडक तताउने ? सडक तताउने जनताले के पाउने ?
नेपाल बिग्रेको गतिलो नेता नभएर मात्र होइन, नेताले जतिबेला पनि प्रयोग गर्नसक्ने स्तरमा जनता रहनु पनि हो । सडक तताउँदा तताउँदै जनताको बास सडकमै हुने अवस्था आउँदा पनि त्यही नेताहरुको गोटी बन्दै जतिखेर पनि र जहाँ पनि तैनाथ भैदिने जनशैलीकै कारण नेताहरु अवसर पाउँदा कोहीपनि जनता प्रति जवाफदेही देखिएका छैनन् । यतिबेलाको पार्टी झगडामा जनताले कुनैपनि पक्षबाट सडक तताउनु आवश्यक छँदैछैन ।
जनताको छाक रोकिँदा पुलुक्क नहेर्ने तमासे नेताको लागि महामारीको समेत पर्वाह नगरी फिल्डमा उत्रिनाले जनतालाई फेरिपनि कमजोर नै बनाउने निश्चित छ । आपसी घमण्ड र महत्वकांक्षाका कारण लड्न उत्रेकाहरुलाई उनीहरुकै बीच एकआपसमा लड्न दिनु राम्रो हुन्छ । सधै राजनीतिको लागि मात्र जनता भिड्ने, नेताको सत्तामा जाने भ¥याङ बनिदिने मात्रको दैनिकीबाट अब सबै नेपाली मुक्त हुन सक्नुपर्छ । सही समय र सन्दर्भमा प्रयोग हुने जनउपस्थितिलाई मात्र इतिहासले मूल्यांकन गर्दछ । जनता झोले हुनुहँुदैन, विवेक र निष्ठाले ओतप्रोत हुनुपर्दछ ।नेताले दिने साना साना आश्वासन
लाई बेवास्ता गर्दै आफ्नो समयको मुल्य सम्झँदै ठिक र बेठिकको तराजु लिएर मात्र जनता जनता बन्न सक्छन् । जनताको विकास जनताले नै गर्ने हो । आशा गर्न छोडेर कर्मपथको यात्राले मात्र लक्ष्य प्राप्त हुन्छ, न कि जिन्दावाद र मुर्दावाद को नाराले । माउन्टेन टेलिभिजन राजनीतिक ब्यूरो ।