बालकुमार नेपाल
काठमाडौं, ८ माघ । पहिलो भेटमा यस्तो “फिलिङ” भयो कहिल्यै ओठबाट हाँसो फुत्काउन नसक्ने मान्छेसंगको सिकाई कस्तो होला? जनार्दन दाईसंग भएको पहिलो भेटमा यस्तो महसुस भएको थियो । त्यसबेला नेपाली पत्रको कार्यालय लगन टोलमा थियो। उहाँंलाई भेट्न म त्यहाँ पुगेको थिएँ। सायद त्यसबेला नेपालको संविधान २०४७ अनुसार पहिलो आम चुनाव भएर प्रतिनिधिसभा गठन भएको थियो।
के सम्झेर हो जनर्दन दाईले मलाई नेपाली पत्रमा लिन स्वीकार गर्नुभयो। उहाँं किन म संग प्रभावित हुनुभयो थाहा छैन। तर म जस्तो सिकारु र नयाँं मान्छेका लागि यो एउटा गजबको अवसर थियो। हामी आफु भन्दा सबै अग्रजलाई दाई नै भन्थ्यौ । दाईले केही गाईड लाईन दिएपछि संसदको पासका लागि दिएको पत्र बोकेर सिंहदरवार तर्फ लागेको थिएँ। मलाई दाईले “कसले के बोले त्यो महत्वपूर्ण कुरा होइन कसले के गरे त्यो महत्वपूर्ण कुरा हो” भन्ने गाईड लाईन दिनुभएको थियो।
संसद प्रवेश मेरा लागि बिल्कुल नौलो थियो । पास बनाएर प्रतिनिधिसभामा ब्यबस्था गरेको संसदको उत्तर लवीमा पत्रकार दिर्घमा बसे । तर मेरा लागि बिषय थिएन । लाग्थ्यो काम गरेकै दिन मैले पाएको जागिर खुस्कीने भयो ।
यस भन्दा अघिदेखिनै जनार्दन दाईको “समय समय” को स्तम्भ्को म पनि फ्यान थिएँ । त्यसैले दाईको “स्पीरीट” मैले बुझेको थिएँ। प्रतिनिधिसभाको बैठक शुरु हुनु अघि कांग्रेस साँसद शैलाजा आचार्य प्रवेश गर्नुभयो। उहाँंको गेट अप अरु महिला सांसद भन्दा भिन्न थियो। उहाँंले लगाएको जवाहारकोट माथि मैले समाचार बनाउने अनेक गसिप भरेँ।
संसद सकिएपछि बेलुका कार्यालयमा पुगेर त्यो समाचार लेखे । दाईले हेर्नुभयो । उहाँलेनै त्यसको हेडिङ राखी दिनुभयो । हेडिङ थियो “ससंदमा शैलेजाको जवाहारकोट” । नेपाली पत्रको भित्री पेजमा दुइ कोलममा ठाडोमा समाचार छापियो। त्यो समाचार हेरेपछि दाईले मलाई महत्वपूर्ण बिषय दिन थाल्नुभयो। एक प्रकारले दाई मेरो कामबाट प्रभावित हुनुभयो । त्यसपछि मैले उहाँंलाई भेटेको पहिलो “फिलिङ” मा परिवर्तन भईसकेको थियो । उहाँंको हाँसो, खुशी ओठबाट फुत्कदाँ हाम्रा लागि एक साता ईनर्जी पुग्ने रहेछ।
कालान्तरमा दाईले नेपाली पत्र छोड्न्भयो, उहाँंसगै राजकुमार जी कुसुम, सुवास देवकोटाहरुले पनि नेपाली पत्र छोडेका थिए । मैलेपनि नेपाली पत्र छोडँे । केही समय म बीरगन्जमा गएर पत्रकारितामा नै ब्यस्त भए। यता दाईले समकालिन साप्ताहिक निकाल्ने तयारी गर्नुभएको रहेछ। एक दिन दाईको फोन आयो। उहाँंले भन्नुभयो ‘बालकुमार जी तपाई काठमाडौँ आएर मसंग काम गनूहुन्छ? ’ मलाई दाईसंग काम गर्ने भोक मरेको थिएन। त्यसैले जावाफ दिए ‘ दाई तपाईसंग म आधी पेट खाएर पनि काम गर्न तयार छु ।’
हामी फेरि पुरानै टीम दाईसंग काम गर्न जुटेका थियांै । राजकुमार जी कुसुम, म जुटेका थियौं । त्यसमा अनुप थपलिया पछि जुटेका थिए। निकै लामो समय दाईसंगको सहयात्रा रह्यो।
दाईले हामीलाई हात समातेर पत्रकारिता सिकाउनुु भएको थियो। एउटा लेखमा उहाँंसंगको अनुभूति बयान गर्न सकिँदैन। पत्रकारिताको बजारमा विशिष्ट र अलग ब्राण्डको सम्पादक हुुनुुहुन्थ्यो दाई । उहाँंको सिकाई पनि यति मायालु थियो त्यो हाम्रा मनभित्रको अमिट छाप बनेर बसेको छ । उहाँंले हाम्रा समाचार हेृर्नुहुन्थ्यो, त्यो मिलेन भने फेरि एक पटक रिराईट गर्नुस् भन्नु हन्थ्यो । त्यसमा पनि मिलेन भने कागज र कलम लिएर आफै लेख्नु हन्थ्यो र हामीले लेखेको कपी र दाईले लेखेको कपी संगै स्टिच गरेर भन्नु हुन्थ्यो ‘हेर्नुस त यो मैले लेखेकोमा तपाईको कुरा कतै छुटेको छ कि ?
अब दाई हाम्रो स्मरणमा मात्र हुनुहुन्छ । पत्रकारिताको एउटा विशिष्ट र अलग ब्राण्डका गुरु गुमाएको छौँ । अल विदा जनार्दन दाई