काठमाडौँ, ५ माघ । तापक्रम घट्दै जाँदा प्रदेश २ मा शीतलहरको कहर सुरु भएपछि सहरी क्षेत्रमा मानिसको चहलपहल पातलिएको छ ।
चिसो बढे संगै दाउरा, काठ र पराल बालेर चोकचोकमा आगो ताप्ने क्रम बढेको छ । यतिबेला प्रदेश २ का मुख्य सहरहरूको तापक्रम लगातार ओरालो लागेको छ । जनकपुर, वीरगन्ज, राजविराज, कलैया, मलंगवा र जितपुर सिमरामा अत्यधिक चिसो भएको छ ।
जनकपुरको मुख्य चोकहरूमा दाउरा बालेर आगो ताप्ने र न्यानो खाना उपलब्ध गराउने अभियान थालिएको छ । धनुषाको ग्रामीण क्षेत्र र विपन्न बस्तीमा शीतलहरको कहरले झन् सताएको छ ।
प्रदेश २ प्रहरी कार्यालय जनकपुरका अनुसार पुसयता शीतलहरले ४ जनाको मृत्यु भएको छ भने सिरहामा ५ दिनयता मात्रै ३ जनाले ज्यान गुमाएका छन ।