बिष्णु खनाल
अर्घाखाँची, २४ पुष । अर्घाखाँचीको छत्रदेव गाउँपालिकाका एक हप्ताका लागि सम्पुर्ण सेवाहरु बन्द भएको छ । पालिका अध्यक्ष लेखनाथ पोखरेलसहित ९ जनालाई कोरोना संक्रमण पुष्टि भएपछि गाउँपालिकाका सम्पूर्ण सेवा एक हप्ताका लागि बन्द भएको हो ।
पालिका अध्यक्ष पोखरेलसहित ९ जनालाई संक्रमण पुष्टि भएपछि बिहीबारदेखि पालिकाका कार्यालय र वडा कार्यालयका अति आवश्यक बाहेकका सबै सेवा बन्द गरिएको प्रमुख प्रशासकिय अधिकृत पवन अर्यालद्धारा जारी गरिएको विज्ञप्तीमा जनाईएको छ ।

पालिका कार्यालय तथा वडा कार्यालयबाट सेवा संचालन गर्दा कोरोना समुदाय स्तरमा फैलने भन्दै कोरोना रोकथामको लागि अति आवश्यक बाहेकका सम्पुर्ण सेवा बन्द गरिएको प्रशासकिय अधिकृत अर्यालले जानकारी दिनुभयो ।
गाउँपालिकाका अध्यक्ष पोखरेललाई कोरोना पुष्टि भएपछि पालिकाका जनप्रतिनिधि, राष्ट्रसेवक कर्मचारीको कोरोना टेष्ट गरिएको थियो । कोरोना टेष्ट गर्दा जनप्रतिनिधिसहित ८ जनामा कोरोना पोजेटिभ देखिएको हो ।
यसअघि पालिका अध्यक्ष पोखरेललाई कोरोना पुष्टि भएर स्वास्थ्यमा समस्या देखिएपछि काठमाण्डौको वि.पि.स्मृति अस्पतालमा उपचार भईरहेको छ । उहाँको स्वास्थ्यमा क्रमिक सुधार भईरहेको बताईएको छ ।