सरोज बस्याल, काठमाडौं, २१ पुष । पुसको जाडोमा मौसम धुम्मिएसँगै काठमाडौंको वायु प्रदुषण ह्वात्तै बढेको छ । काठमाडौंको प्रदुषणस्तर इन्डेक्स मंगलबार बिहान ४३७ पुगेको छ । प्रदुषणस्तरमा देखिएको सो अंकले नेपाललाई अहिले विश्वका ५० सहरमध्ये प्रदूषणका हिसाबले काठमाडौं १ नम्बरमा रहेको देखिएको छ । प्रदुषणका कारण सर्वसाधारणले यतिबेला आँखा पोलेको र हावामा धुँवाको गन्ध आएको गुनासो गरिरहेका छन् ।
सोमबार अकस्मात खस्किएको वातावरणको स्तरले नेपाललाई प्रदुषित सहरको रुपमा देखाएको छ । काठमाडौं वातावरणीय गुणस्तर किर्गिस्तानको बिस्केक, पाकिस्तानको कराँची, चीनको वुहान, भियतनाममको हानोइ, बंगलादेशको ढाका र भारतको मुम्बई भन्दा पनि प्रदुषित देखिएका छन् । काठमाडौंको वायुको गुणस्तर मानव स्वास्थ्यका लागि विशाक्त रहेको बताइएको छ । अहिलेको वायुले मानिसलाई स्वासप्रस्वास सम्बन्धी रोग लाग्ने अवस्था बन्ने जनस्वास्थ्यविद् प्रा. डा. सुनु दुलाल बताउनुहुन्छ ।
विगतका वर्षहरुमा पनि काठमाडौंमा प्रदुषणको मात्रा एक नम्बरमा पुगेको र भविष्यमा पनि पुग्ने वातावरणविद् भुषण तुलाधर बताउनुहुन्छ । हरेक वर्ष जाडोको समयमा प्रदुषणको मात्रा ४ देखि ५ प्रतिशत बढेको सरकारी तथ्याङकले देखाएको उहाँको भनाई छ । काठमाडौंको वातावरण प्रदुिषत हुनुको मुल तीन कारण हुने उहाँले बताउनुभएको छ ।
यस्तैगरी दृष्टि रोग विशेषज्ञ डा. दीपककुमार शाह प्रदुषणको मात्र बढ्दै जाँदा आँखा तथा स्वासप्रस्वास सम्बन्धी रोगका साथै क्यान्सरसम्म लाग्न सक्ने बताउनुहुन्छ । वायु प्रदुषणका कारण आँखामा तत्कालीन तथा दीर्घकालीन असरहरु समेत देखिन सक्ने उहाँको भनाइ छ ।
११ महिना पहिले मन्त्रिपरिषद्को बैठकले काठमाडौंको वायु प्रदुषणको गुणस्तर व्यवस्थापन कार्ययोजना पारित गरेको थियो । उक्त कार्ययोजनामा एयर क्वालिटी इन्डेक्स ३ सयभन्दामाथि गएमा आपतकाल घोषणा गर्न सक्ने व्यवस्था गरिएको थियो । गत वर्ष छिमेकी मुलुक भारतको राजधानी नयाँ दिल्लीमा पनि त्यस्तो अभ्यास गरिएको थियो । सोमबार साँझ नौ बजेको एअर क्वालिटी इन्डेक्स हेर्दा करिब ५ सयभन्दा बढी नाघेको देखिन्छ । वातावरणको अवस्था नाजुक भएकाले पनि यसलाई नियन्त्रण गर्न सरकारले ध्यान पु¥याउन आवश्यक देखिन्छ ।