दाङ, १४ पुष । प्रधानमन्त्री कप महिला टि–ट्वान्टी राष्ट्रिय क्रिकेट प्रतियोगितामा सुदुरपश्चिम प्रदेश र प्रदेश १ ले विजयी सुरुवात गरेका छन् । दाङको लमहीमा समुह बीको पहिलो खेलमा मंगलबार सुदुरपश्चिम प्रदेशले गण्डकीलाई ५९ रनको फराकीलो अन्तरले पराजित गरेको हो ।
१ सय ८ रनको विजयी लक्ष्य पछ्याएको गण्डकीले २० ओभरमा ६ विकेट गुमाएर मात्र ४८ रन बनायो । उसका कुनै पनि खेलाडीले दोहोरो अंक छुन सकेनन् । गण्डकीका श्रृष्टी पौडेलले सर्वाधिक ८ रन बनाइन् । गण्डकीलाई ४८ रनमा रोक्न सुदुरपश्चिमकी सुनिता लुहारले २ तथा कबिता कुँवर, रितु कनुजिया र लक्ष्मी साउदले समान १–१ विकेट लिए ।
खेलमा टस जितेर पहिले ब्याटिङ गरेको सुदुरपश्चिमले १९ ओभरमा ३ बलमा सबै विकेट गुमाएर १ सय ७ रन बनाएको थियो । सुदुर पश्चिमकी रेवती धामीले सर्वाधिक २८, रन बनाइन् । गण्डकीकी श्रृष्टी पौडेल र अलिसा लामिछानेले ३–३ विकेट लिए ।
मंगलबार नै भएको दोस्रो खेलमा प्रदेश १ ले बागमती प्रदेशलाइ ४६ रनबाट हराएको छ । यो खेलमा पहिले व्याटिङ गरेको प्रदेश ज्ञले २० ओभरमा ५ विकेट गुमाएर १ सय ६ रन बनायो । प्रदेश १ की रोबिन क्षेत्रीले ५५ रन बनाइन ।
जवाफमा बागमती प्रदेशले १६ दशमलव ४ ओभरमा ६० रन बनाउदा सबै विकेट गुमायो । बागमतीलाई ६० रनमा समेट्न प्रदेश १ की निग्मा तामाङले ३ र अप्सरी बेगमले २ विकेट लिइन् । यसअघि समुह ’बी’ बाट विभागीय टोली एपीएफ र लुम्बिनी सेमिफाइनल पुगिसकेका छन् ।