काठमाडौं, ३० मंसिर । उखु किसान आन्दोलनबाट पछि नहट्ने भएका छन् । सरकारले आन्दोलनका कार्यक्रम फिर्ता लिने सर्तसहित तीन बुँदै सम्झौता पेश गरेपनि उखु किसान आन्दोलनबाट पछि नहट्ने बताएका हुन् ।
आज उखु किसानलाई भेटेन उद्योग मन्त्रालयका प्रवक्ता डा. नारायणप्रसाद रेग्मी र उद्योगमन्त्री लेखराज भट्टका स्वकीय सचिव रितेश ओझा पत्र लिएर पुग्नुभएको थियो । तर, उखु किसानहरुले आन्दोलनबाट पछि नहट्ने जवाफ दिएका छन् ।
यसैगरी, गृह मन्त्रालयले उखु किसानलाई रकम भुक्तानी नगर्ने सुगर मिल सञ्चालकलाई पक्राउ गर्ने निर्णय गरेको छ । गृहमन्त्री रामबहादुर थापा बादलले गृहका उच्च अधिकारी र प्रहरी अधिकारीहरुसँग बैठक राखेर यस्तो निर्णय गर्नुभएको हो ।
उखु किसानहरुले भने विगतमा पनि यस्तै कदम चालिएपनि रकम भुक्तानी नपाएको, आफूहरुलाई बिचौलिया भनेको भन्दै आपत्ती जनाएका छन् । अघिल्लो पटकको सम्झौता कार्यान्वयन नभएकाले यो पटक उधारो आश्वासन नमान्ने उखु किसानको भनाई छ ।