काठमाडौं, २५ मंसिर । नेपाल उद्योग वाणिज्य महासंघले वैदेशिक रोजगार फोरम स्थापना गर्ने भएको छ । महासंघका अध्यक्ष शेखर गोल्छाले वैदेशिक रोजगार व्यवसायीका समस्या समाधान गर्न महासंघ भित्र वैदेशिक रोजगार फोरम स्थापना गरिने बताउनु भएको हो ।
बिहिबार नेपाल वैदेशिक रोजगार व्यवसायी संघले महासंघका नव निर्वाचित पदाधिकारीहरुलाई बधाई एवं शुभकामना दिन आयोजना गरेको कार्यक्रममा बोल्दै अध्यक्ष गोल्छाले यस्तो बताउनुभएको हो । महासंघ भित्र स्थापना हुने फोरमले वैदेशिक रोजगार व्यवसायीका समस्या समाधान गर्न सबै व्यवसायीसँग सहकार्य गर्ने गोल्छाको भनाई छ ।
महासंघका वरिष्ठ उपाध्यक्ष चन्द्रप्रसाद ढकालले वैदेशिक रोजगार क्षेत्रलाई थप मर्यादित बनाउन भूमिका खेल्ने बताउनुभयो ।
कार्यक्रममा वैदेशिक रोजगार व्यवसायीहरुले आफुहरुमाथि राज्यले हेर्ने दृष्टिकोणमा नै परिवर्तन हुनुपर्ने बताएका थिए ।