एजेन्सी,१५ मैसिर।नाइजेरियाको उत्तरपूर्वी क्षेत्रमा भएको आक्रमणमा कम्तिमा १ सय १० जना किसान मारिएका छन् । द्वन्द्व प्रभावित बोर्नो राज्यको राजधानी मैदुगुरी नजिकै ग्रामिण समुदायमाथि बन्दुकधारीले जथाभावी गोली चलाउँदा उक्त घटना भएको हो ।
मोटरसाइकलमा आएका सशस्त्र समूहले खेतमा काम गरिरहेका किसानमाथि जथाभावी आक्रमण गरेको संयुक्त राष्ट्रसंघीय मानविय संयोजक एडवार्ड क्यालनले बताउनुभएको छ । घटनमा केही महिला अपहरणमा परेको राष्ट्रसंघले जनाएको छ ।
निदोष किसानमाथि भएको जघन्य अपराध क्षम्य नहुने भन्दै क्यालनले पीडितको न्यायका लागि सबैले पहल गर्नुपर्ने बताउनुभएको छ । घटनाको बारेमा कसैले जिम्मेवारी नलिएपनि पश्चिमी अफ्रिकाको इस्लामिक स्टेट आइएसडब्लुएपी र बोकोहरामलगायतका सशस्त्र समूहको हात हुनसक्ने अनुमान गरिएको अन्तर्राष्ट्रिय समाचार संस्था अलजजिराले जनाएको छ ।
नाइजेरियाका राष्ट्रपति मुहम्मद बुहारीले घटनाको निन्दा गर्दै सशस्त्र गतिविधिबाट समस्या समाधान नहुने भन्दै वार्तामा आउन आह्वान गर्नुभएको छ । पछिल्लो समय विद्रोही समूहका गतिविधिका कारण हजारौं सर्वसाधारण विस्थापित समेत भइसकेका छन् ।