एजेन्सी , १६ असोज । स्पेनबाट छुट्टिनका लागि आइतवार गराएको जनमत संग्रहमा क्याटलोनिया सरकारले स्वतन्त्र राष्ट्र बनाउने अधिकार पाएको छ ।
जनमत संग्रहमा ४२.३ प्रतिशत मत खसेकोमा ९० प्रतिशत मत स्पेनबाट अलग्गिनुपर्ने पक्षमा रहेको सरकारको दाबी छ।
तर स्पेनको केन्द्र सरकारले जनमत संग्रह अवैध भएको घोषणा गरेको थियो । प्रधानमन्त्री मारिआनो राखोयले क्याटलोनियाका अधिकांश जनता स्वतन्त्र राष्ट्रको पक्षमा नरहेको बताएका छन्।
आइतवार भएको जनमत संग्रहका क्रममा कैयौँ स्थानमा प्रहरी र स्वतन्त्रता पक्षधरबीच हिंसात्मक झडपहरु भएका थिए जसमा कम्तीमा ८०० जना घाइते भएको बिबिसिले जनाएको छ । प्रदर्शनकारीहरुको ढुंगामुढाबाट १२ जना प्रहरी घाइते भएका छन्।