काठमाडाैं,१० मंसिर। हज समितिका अध्यक्ष समशेर मियाँले आर्थिक अनियमितता गरेको भन्दै सदस्यहरुले गृह मन्त्रालयमा उजुरी दर्ता गराएका छन् ।
समितिका सदस्यहरुले बुधबार गृह मन्त्रालयमा उजुरी दर्ता गराएका हुन् । हज समितिका सदस्य नजीबुल्लाह अन्सारीले गृह मन्त्रालय, प्रधानमन्त्रीको कार्यालय र संवैधानिक मुस्लिम आयोगमा अध्यक्ष मियाँले आर्थिक अनियमितता गरेको सम्बन्धमा प्रमाणसहित उजुरी दिएको बताउनुभयो । अध्यक्ष मियाँले हज यात्रामा जाने हाजीहरुको व्यवस्थापनमा करिब ३ करोड रुपैयाँ हिनामिना गरेको आरोप सदस्यहरुले लगाएका छन् ।
हज यात्राका लागि राष्ट्रिय वाणिज्य बैंकमा जम्मा भएको १५ करोड रुपैयाँ ब्याज र कमिसनको लोभमा सनराइज बैंकमा सारेको आरोप समेत समितिका सदस्यहरुले लगाएका छन् । उनीहरुले अध्यक्ष मियालाई तत्काल हज समितिको अध्यक्षबाट हटाई कारबाही गर्न माग गरेका छन् ।