काठमाडौं, २२ कार्तिक । भारतीय स्थल सेनाध्यक्ष मनोज मुकुन्द नरवणेको नेपाल भ्रमणले दुई देशबीचको सम्बन्धलाई सकारात्मक उर्जा प्रदान गरेको सुरक्षा विज्ञ उमेश भट्टराईले बताउनुभएको छ ।
संवादहिनताको अवस्थामा रहेको कुटनीतिलाई नरवणेको भ्रमणले केही हदसम्म सकारात्मक बनाउन सहयोग पुगेको सुरक्षा विज्ञ भट्टराईको विश्लेषण छ । सार्वभौंम सत्ता सम्पन्न राष्ट्रको हिसाबले दुई देशबीचको सम्बन्धलाई बढाउन चाहने भएपनि एक वर्ष देखि रोकिएको प्रकृयामा यो भ्रमणले कुटनीतिक सुरुवात भएको छ भन्ने सन्देश दिएकोले यसलाई सकारात्मक रुपमा लिनुपर्ने भट्टराईको भनाई छ ।
दुई देशबीचको सेनाको सम्बन्ध व्रिटिस आर्मी रहदा देखिकै भएकोलेपनि सैन्य कुटनीतिलाई भिन्दै किसिमले व्याख्या गर्नुपर्ने आवश्यकता नरहेको उहाँले बताउनुभयो ।
इतिहास देखिकै सम्बन्धका कारण नेपाली सेनाले भारतीय सेनासँग कुटनीतिक सम्बन्ध विकास गर्न खोज्नुलाई अन्यथा ठान्न नहुने पनि भट्टराईले बताउनुभयो । तर स्वतन्त्र मुलुकको हिसाबले कुनैपनि स्थितिमा पछाडि हट्न नहुने र अहिलेको भ्रमणले कुटनीतिक वातावरण सकारात्मक बनाएको स्पष्ट हुने पनि उहाँले बताउनुभयो ।