एजेन्सी, २२ कार्तिक । युएईमा जारी १३ औं संस्करणको इन्डियन प्रिमियर लिग आईपीएल टी–ट्वान्टी क्रिकेटमा सनराइजर्स हैदराबाद क्वालिफायरमा प्रवेश गरेको छ ।
आबुधाबीको शेख जायद क्रिकेट स्टेडियममा शुक्रबार राति भएको एलिमिनेटरमा रोयल च्यालेन्जर्स बैंगलोरलाई ६ विकेटले पराजित गर्दै हैदराबादले क्वालिफायरमा स्थान बनाएको हो ।
बैंगलोरले दिएको १ सय ३२ रनको लक्ष्य हैदराबादले १९ ओभर ४ बलमा ४ विकेट गुमाएर पुरा गर्यो । हैदराबादको जितमा केन विलियम्सनले अविजित रहदै ५० रनको अर्धशतकीय इनिङ्स खेले । जासन होल्डरले अविजित २४, मनिस पाण्डेले २४, कप्तान डेभिड वार्नरले १७ रन बनाए ।
बैंगलोरका मोहमद सिराजले २ विकेट लिए । एडम जाम्पा र युजभेन्द्र चाहलले १-१ विकेट लिए ।
यसअघि टस हारेर पहिले ब्याटिङ गरेको बैंगलोरले २० ओभरमा ७ विकेट गुमाएर १ सय ३१ रन बनाएको थियो । बैंगलोरका लागि एबी डी भिलियर्सले ५६, आरोन फिन्चले ३२, शिबम दुबेले ८ रन जोड्दा कप्तान विराट कोहली ६ रनमा आउट भए ।
त्यस्तै मोहमद सिराज १० र नाभदिप शैनी ९ रनमा अविजित रहे । हैदराबादका जासन होल्डरले ३ विकेट लिए । टि नटराजनले २ तथा शाहबाज नादिमले १ विकेट लिए ।
अब हैदराबादले फाइनल प्रवेशका लागि दोस्रो क्वालिफायरमा आइतबार दिल्ली क्यापिटल्ससँग खेल्नेछ । बैंगलोर भने प्रतियोगिताबाट बाहिरिएको छ ।