काठमाडौं, २० कार्तिक । कैलालीको धनगढी बसपार्कमा रहेको एक होटेलमा छापा मारी प्रहरीले होटल सञ्चालक सहित ६ जनालाई पक्राउ गरेको छ । बसपार्कमा रहेको होटेल न्यु बडी केदारका सञ्चालक टेकेन्द्र बडैला सहित ६ जनालाई मानव बेचबिखनको आरोपमा पक्राउ गरीएको प्रहरीले जनाएको छ ।
३ जना युवतीलाई धनगढीको एउटा होटेलमा राखिएको र उनीहरूलाई त्रिनगर नाका भएर बेचबिखनकालागि भारत लगिँदै गरेको सूचनाका आधारमा प्रहरीले छापा मारेर उनीहरूलाई नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय कैलालीले जानकारी दिएको छ ।
बेच्न लगिएका भनिएका १७ वर्षका २ र १९ वर्षका युवतीहरु छन् । उनीहरू मध्ये दुई जना सर्लाही र एक जना सिन्धुलीका हुन । तीन युवतीलाई शान्ति पुर्नस्थापना केन्द्रको सेफ हाउसमा राखिएको छ । घटनाबारे थप सोधपुछ र अनुसन्धान भइरहेको र होटेलबाट केही मात्रामा चरेश समेत बरामद भएको प्रहरीको भनाई छ ।