प्रस्तावित राजदूत खतिवडा र रेग्मीविरुद्ध परेका उजुरीको सुनुवाइ कात्तिक २७ गते हुने | ईमाउण्टेन समाचार

Our Network

वैशाख ८ २०८१, शनिबार

प्रस्तावित राजदूत खतिवडा र रेग्मीविरुद्ध परेका उजुरीको सुनुवाइ कात्तिक २७ गते हुने

काठमाडौं, १७ कार्तिक । अमेरिका र बेलायतका लागि प्रस्तावित राजदूतहरु युवराज खतिवडा र लोकदर्शन रेग्मीविरुद्ध परेका उजुरीको सुनुवाइ कात्तिक २७ गते हुने भएको छ । सोमबार संसदीय सुनुवाइ समितिले प्रस्तावित राजदूतहरुविरुद्ध परेको उजुरीका सम्बन्धमा छलफलका लागि बोलाए पनि उजुरी दिनेहरु उपस्थित नभएको कारण सुनुवाई कात्तिक २७ गतेलाई सारिएको हो ।

उजुरीकर्तालाई पटक पटक फोन गरेर सूचित गर्दा र गोरखापत्रमा सार्वजनिक सूचनामार्फत उपस्थित हुन आग्रह गरिए पनि उनीहरु नआएको बताइएको छ । त्यस्तै समितिका सदस्यहरु देव गुरुङ र निरु पाल कोरोना संक्रमणका कारण बैठकमा उपस्थित नभएकाले केही सदस्यले सुनुवाइ सार्न आग्रह गरेका थिए ।

संसदीय सुनुवाइ समितिका अनुसार प्रस्तावित राजदूतहरू खतिवडा र रेग्मीविरुद्ध अनियमितता, कार्यसम्पादन, नीतिगत भ्रष्टाचार लगायतका विषयमा उजुरी परेका थिए । राज्यका विभिन्न निकायमा पटकपटक अवसर पाएका पूर्वअर्थमन्त्री तथा प्रधानमन्त्रीका पूर्वआर्थिक सल्लाहकार खतिवडाविरुद्ध तीन उजुरी परेका थिए ।

मुख्यसचिवबाट राजीनामा दिएकै दिन बेलायतका लागि राजदूतमा सिफारिस भएका लोकदर्शन रेग्मीविरुद्ध पनि विभिन्न समयमा गरेका कामलाई आधार बनाएर उजुरी परेको बताइएको छ ।

असोज १५ गते बसेको मन्त्रिपरिषद् बैठकले खतिवडालाई अमेरिका, रेग्मीलाई बेलायत र विश्वकर्मालाई दक्षिण अफ्रिकाको राजदूत नियुक्तिका लागि सिफारिस गरेको थियो । संसदीय सुनुवाइ समितिबाट नाम अनुमोदित भएपछि राष्ट्रपतिले राजदूतहरूको नियुक्ति गर्ने कानुनी व्यवस्था छ ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);