दशैंको कालरात्री शुभ विजयामा परिणत हुन सकोस् । (भिडियोसहित) | ईमाउण्टेन समाचार

Our Network

वैशाख २३ २०८१, आइतबार

दशैंको कालरात्री शुभ विजयामा परिणत हुन सकोस् । (भिडियोसहित)


नेपालीहरुको महान चाडको रुपमा हर्षाेल्लासका साथ प्रवेश गरेको बडादशैं नेपालीहरुको घर आंगनबाट अब बिदा हुँदैछ । आआफ्नो गच्छ र क्षमता अनुसार बडा दशैंलाई सबै नेपालीले रौनकता दिइ मनाएका छन् । विजयादशमीको दिनलाई विजय उत्सवको भावसहित हर्षाेल्लासका साथ मनाउने गरिन्छ । कोरोनाको महामारीले भन्दा विकृति र विसंगतिको दललमा फसेको उकुसमुकुसको राजनीतिबाट त्रसित जनताको लागि दशैंको कालरात्री शुभ विजयमा भने अझै परिणन हुन सकेको देखिंदैन ।

शरद ऋतुको रमणीय मौसमका साथ हर्षाेल्लासमय बन्दै प्रवेश गरेको बडा दशैं करीव करीव नेपाली घर आंगनबाट बिदा हुँदैछ । नेपाली मात्रको मौलिक पर्व समय र परिस्थिति जस्तो भएपनि पर्व मनाउने मौलिकतासँगै आ–आफ्नो हैसियत र क्षमता अनुसार पर्वलाई सबैले रौनकता दिने गर्दछन । त्यसो त यो पर्व वास्तवमा विशुद्ध धार्मिक अनि सांस्कृतिक विषयवस्तुसँग सम्बन्धित छ ।

तथापी, दशैंको महात्वपूर्ण तीन दिन मध्ये दुई दिन चाहीं राजनीतिक हिसाबले पनि कहीं न कहीं सम्बन्ध राख्ने दिनको प्रतिबिम्ब जस्तो देखिन्छ । त्यो दुई दिन हो, दशैंको मध्यतिर पर्ने कालरात्री अनि विजयको संकेत स्वरुपको उत्सवको प्रतिनिधित्व गर्दै मनाइने विजयादशमी । कालरात्रीका दिनलाई कठोर अनि निर्मम पासविक हत्यासँग जोडेर हेर्ने हेरिन्छ भने विजयादशमीको दिन विजय उत्सवको भावसहित हर्षाेल्लासका साथ मनाउने गरिन्छ ।

जब जब राजनीति विकृत हुँदै जान्छ, हत्या हिंसाले पश्रय पाउन थाल्छ, त्यो समय र सन्दर्भलाई सांकेतिक रुपमा कालरात्री भन्ने गरिन्छ । विगतमा पंचायती व्यवस्थालाई कालरात्रीको रुपमा वर्णन गर्ने गरिन्थ्यो । तर त्यसको बिदाइसँगै अझ ठूलाठूला कालरात्रीहरु नेपाली आकाशमा मडारिन पुगे । हजारौंको बलीवेदी हुँदा पनि विजयको नामोनिसान कहीं देखिएको छैन । शुभ विजयाको आशामा थुप्रै राजनीतिक रंगमञ्चमा पात्र र प्रवृत्तिहरु उदाय, अस्थाए । ठूला ठूला परिवर्तनहरुको घोषणा पनि भयो । तर पनि शुभ विजया भन्न सकिएन । सबै जस्तो राजनीतिक दलहरुका घोषणापत्रहरु विजयादशमीको दिनमा मान्यजनले दिने आशिर्वादको कथा जस्तो देखिन पुग्यो । न आशिर्वाद लाग्यो न विजयादशमी नै आयो ।

अहिले पनि राजनीतिमा थुप्रै यस्ता विकृत पक्षहरु छन् । जसको निराकरणको निमित्त फेरी पनि जनदवाव हुन सक्ने अवस्थाहरु यत्रतत्र सर्वत्र देखिन्छन । प्रसंगसंगै कालरात्रीहरु मडारिन सक्छन । तैपनि शुभ विजयको वास्तविकता भने टाढाको सपना जस्तै छ । राजनीति विकृति र विसंगतिको दलदलमा फसेको छ । आशालाग्दो वातावरण कतै छैन । फैंलदो महामारीको डरभन्दा राजनीति भित्रको उकुसमुकुस वातावरणले जनता त्रसित अनि निराश देखिन्छन । सुखद सम्भावनाहरु कतै देखिंदैन । आशालाग्दो भविष्य पनि देखिंदैन ।

यस्तो अवस्थामा मान्यजनहरु पनि आशिर्वाद दिंदा त्यो आशिर्वादको भविष्य कस्तो होला भनेर सोच्नु पर्ने अवस्थामा पुगेको हुनुपर्छ । पर्व रमाइलोको प्रतिबिम्ब हुनुपर्ने हो, अमिलिएको मनले कसरी रमाइलोको अनुभूति हुन सक्ला ? आशासहित चालिएका राजनीतिक पाइलाहरुबाट जनता खुशी छैनन् । राजनीति गर्नेहरु मध्ये धेरैले माननीय, सम्माननीयको पद पाए । तर जनताको मनमा न माननीय मान्यजन हुन सके, न सम्माननीयहरु जनताको अभिभावक बन्न सके । २०७७ सालसम्मको विजयादशमीको इतिहास कुनै अर्थमा पनि जनअपेक्षा अनुसार हर्षाेल्लासमय बन्न नसकेको यथार्थतासँगै मडारिएको राजनीतिक अविश्वास र संकटको वातावरणले राजनीतिक पार्टीहरु स्वयं क्षत विक्षत अवस्थातर्फ उन्मुख हुँदै जानु र आर्थिक उन्नतिको नामोनिसान नबन्नुले २०७८ सालको विजयादशमी पनि इतिहासको एउटा नयाँ अंक बाहेक अरु केही हुन सक्ने देखिंदैन ।

हुन त पर्वहरुले सबैलाई आशावादी बन्न सिकाउनु पर्छ भन्छन । तर सम्भव बिनाको आशालाई आशा भन्ने की नभन्ने ? आशा गरिने, कहिल्यै नपुग्ने अवस्थालाई आशा भन्ने की सपना भन्ने ? जेहोस आशाको झिनो वातावरणलाई टुट्न नदिने हो भने नेपालले केही परिवर्तन गर्नेतर्फ केही कदम चाल्छ कि ? वा कुनै चमत्कारिक अवस्थाको जन्म पो हुन्छ कि ? यदि केही हुन सकेन भने राजनीतिमा उदाउन सक्ने जंगबहादुरको नयाँ अवतारहरुलाई कसैले रोक्न सक्ने छैन ।

त्यस्तो भयो भने कालरात्रीको निरन्तरता पनि रही नै रहनेछ । टुंगो नहुने भनेको शुभ विजयाको मात्र हो । आशा गरौं, आगामी शुभ विजया देशको लागि सम्पूर्ण हिसाबले सुखद हुनेछ । सुन्दर, शान्त, विशाल नेपालको परिचयको वास्तविक परिदृष्य देख्न पाइने छ । सबैमा विजयादशमीको मंगलमय शुभकामना ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);