दशैंको सांस्कृतिक महत्व; धार्मिक विश्वाससहित दुर्गा भवानीकोे पूजा–आराधना गरिने | ईमाउण्टेन समाचार

Our Network

फागुन १२ २०८०, शनिबार

सरोज थापा, काठमाडौं, ७ असोज ।  विजयादशमी नेपालीहरुको मुख्य पर्व हो । दशैं आश्विन शुक्ल प्रतिपदा घटस्थापनादेखि सुरु भएर कोजाग्रत पूर्णिमासम्म १५ दिन विधिपूर्वक मनाइन्छ । असत्यमाथि सत्यको विजय भएको धार्मिक विश्वाससहित शक्तिस्वरुपा दुर्गा भवानीका विभिन्न नौ रुपको पूजा–आराधना गर्ने र मान्यजनबाट विजयको प्रतीक टिका र जमरा लगाएर धुमधामका साथ मनाइन्छ ।

विशेषगरी हिन्दू धर्मालम्बीहरुले आश्विन शुक्ल प्रतिपदादेखि नवमीसम्म शक्तिकी देवी दुर्गा माताको पूजा आराधना गरी दशमीको दिन टिका तथा प्रसाद ग्रहण गर्ने चलन छ ।

आश्विन शुक्ल प्रतिपदा घटस्थापनामा जमरा राखी नवमीसम्म नवरात्र विधिले प्रत्येक दिन फरक देवीहरूको पूजा हुन्छ । प्रतिपदादेखि शैलपुत्री, ब्रह्मचारिणी, चन्द्रघण्टा, कुष्माण्डा, स्कन्दमाता, कात्यायिनी, कालरात्री, महागौरी, सिद्धिदात्री गरी नवदुर्गाको पूजा गर्दै सप्तशती चण्डी पाठ गरी नवदुर्गा र त्रिशक्ति महाकाली, महालक्ष्मी र महासरस्वतिको विशेष पूजाआजा र आराधना गरिन्छ । विजयादशमीको दिन महिषासुर राक्षसको बध, श्रीरामले रावणमाथि विजयप्राप्त गरेको दुर्गाले दैत्य, चण्डमुण्ड तथा शुम्भनिशुम्भलाई बध गरेको खुसिमा नवदुर्गा भवानीको प्रसादस्वरुप रातो टिका र जमरा लगाउने चलन छ । दशैंले नेपाली संस्कृतिको विशेष महत्व झल्काउने समाजशास्त्रीहरु बताउँछन् ।

दशैँ आसपासको मौसम खेतीपातीमा बढि व्यस्त हुनु नपर्ने भएकाले पनि कृषकहरु फुर्सदिलो समयमा दशैँको रौनकतामा भुल्ने गर्छन् । वर्षभर विभिन्न कामका शिलशिलामा घरपरिवारभन्दा टाढा रहेका नाता आफन्तजनहरुको मिलनको अवसर पनि हो, दशैं ।

द्रोणपुत्र अस्वत्थामाको जस्तो दीर्घायु प्राप्त होस्, दशरथ राजाको जस्तो श्रीसम्पत्ति प्राप्त होस्, भगवान् रामको जस्तो शत्रु नाश गर्न सक्ने क्षमता प्राप्त होस्, नहुष राजाको जस्तो ऐश्वर्य, हनुमानको जस्तो गतिशीलता, दुर्याेधनको जस्तो मान, सूर्यपुत्र कर्ण जस्तो दानी, बलरामको जस्तो बल, युधिष्ठिरको जस्तो सत्यवादिता, विदुरको जस्तो ज्ञान र भगवान् नारायणको जस्तो कीर्ति प्राप्त होस् भन्दै दसैं ठूलाबडा तथा मान्यजनले आशीर्वाद दिने चलन छ ।